Sagun Khabar
अस्ताए हुड्क्यौलीका जानकार बिरे दमाई 

बैतडी–हुड्क्यौलीका जानकार बिरे दमाईको निधन भएको छ । बैतडीको दशरथचन्द नगरपालिका–१ गुरुखोला पाली घर भएका दमाईको ७१ बर्षको उमेरमा बुधबार बिहान निधन भएको हो । 

सुदूरपश्चिमका विभिन्न संस्कृतिमध्येको हुड्क्यौलीका जानकार दमाईको निधनले सांस्कृतिक क्षेत्रमा ठूलो क्षति पुगेको स्थानीय संस्कृतिका जानकारहरुले बताएका छन् । 

स्थानीय भाषामा भडाहा समेत भनिने हुड्क्यौली गायनमा प्रसिद्धि कमाएका दमाईको आज बिहान आफ्नै निवासमा निधन भएको हो । पछिल्लो समयमा प्यारालाइसिसबाट पीडित दमाईको मृत्यु भएको स्थानीय रामदत्त भट्टले जानकारी दिए । 

Atrya hospital

१८ महिना पहिलामात्रै बिरे दमाईकी जीवनसंगीनी शान्ति दमाईको पनि निधन भएको थियो । शान्ति पनि बिरेसंगै हुड्क्यौलीमा साथ दिँदै आएकी थिइन् । 

शुभकार्यमा गाइने हुड्क्यौलीका बिषयमा निकै जानकार रहेका दमाईको निधनले यो क्षेत्रको संस्कृतिमा ठूलो क्षति पुगेको उनले बताए । पछिल्लो पुस्तामा हुड्क्यौलीका बिषयमा जानकारी समेत नरहेको भट्टले बताए । 

बिरे दमाई हुड्को बजाउँदै हुड्क्यौली गाउने आफ्नो पुस्ताका निकै जानकार मानिन्थे । परापूर्व कालका ऐतिहासिक जानकारी समेटिएको हुड्क्यौली गाउनमा बिरे दमाई निकै सिपालु रहेका थिए । हुड्को बजाउँदै बिरे दमाईले गाएको हुड्क्यौली सुन्नका लागि मानिसहरु काम छोडेर समेत सुन्ने गर्दथे । 

बिरे दमाईको निधनसंगै यो क्षेत्रमा हुड्क्यौली गाउने पात्रको अभाव हुने स्थानीय रामबहादुर टेरले बताए । नयाँ पुस्ताले हुड्क्यौलीका बिषयमा त्यति चासो नदिँदा यो लोप हुँदै गएको छ । 

पहिला–पहिला विवाह–ब्रतबन्ध लगायतका शुभकार्यमा गाइने हुड्क्यौली पछिल्लो समयमा लोप हुँदै गएको छ । हुड्क्यौली गाउने र यो बिषयमा जान्ने मानिस नहुँदा पछिल्लो समयमा हुड्क्यौली लोप हुँदै गएको टेरले बताए । 

अब गाउँघरमा गुञ्जिने छैन् बिरे दमाईको चैतलो 

हरेक बर्ष चैतको महिना दशरथचन्द नगरपालिका वडा नं १ र आसपासका क्षेत्रमा चैतलो गाउनका लागि पुग्ने बिरे दमाई अब पुग्ने छैनन् । वसन्त ऋतु आगमनसंगै गाउँमा गुञ्जिने बिरे दमाईको हुड्को र चैतलो अब गुञ्जिने छैन् । 
कालीनाग र भागा नन्दको बिषय समेटिएको चैतलो बिरे दमाईले हुड्को बजाउँदै आफ्नो सुरिलो स्वरमा घरघरमा पुगेर सुनाउने गर्थे । माइतीको नियास्रो लागेकाहरु उनको चैतलो सुन्न ललायित हुन्थे । 

बुधबार बिरे दमाईको निधन भएसंगै अब चैतलो समेत लोप हुने खतरा बढेको छ । चैतलो गाउन जान्ने मान्छे अब गाउँमा कोही नभएको स्थानीय रामदत्त भट्टले बताए । उनले भने ‘हुड्क्यौली, चैतलो लगायतका स्थानीय संस्कृतिका बिषयमा बिरे दमाई निकै जानकार थिए । उनको निधनसंगै यस्ता संस्कृति लोप हुने खतरा बढेको छ ।’ 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update