बैतडी –हावाहुरीसहितको बर्षाले बैतडीका विभिन्न ठाउँमा मकैबालीमा क्षति पुर्याएको छ । घोगा लाग्नै लागेको मकैबाली बर्षा र हावाहुरीले ढलेर सखाप भएको किसानहरुले बताएका छन् ।
शुक्रबारदेखि लगातार बर्षा भइरहेको र आइतबार दिउँसो हावाहुरी समेत चलेपछि बारीमा लगाएको सबै मकैबाली ढलेर नष्ट भएको दशरथचन्द नगरपालिका १ जरकट्टेका किसान बीरबहादुर टेरले बताए ।
यस्तै जिल्लाको सुर्नया गाउँपालिका ८ सेलामा पनि हावाहुरीसहितको बर्षाले मकैबालीमा क्षति पुर्याएको छ । करीब २० परिवारले लगाएको मकैबालीमा हावाहुरी र बर्षाले क्षति पुर्याएको स्थानीय रामबहादुर साउँदले बताए । उनले भने ‘आज दिउँसो आएको हावाहुरीसहितको बर्षाले मकैबालीमा क्षति पुर्याएको छ । मुख्य खाद्यबालीको रुपमा रहेको मकैमा क्षति पुगेपछि हामी समस्यामा परेका छौं ।’
बैतडीसहित मध्यपहाडी क्षेत्रमा मकैबालीलाई मुख्य बर्षे खाद्यबालीको रुपमा लिने गरिएको छ । मकै उत्पादनका लागि पकेट क्षेत्र मानिएकै ठाउँमा विभिन्न कारणले मकैमा क्षति हुन थालेपछि किसानहरु चिन्तित बनेका छन् ।
प्राकृतिक प्रकोपका साथै जंगली जनावरबाट मकैबाली जोगाउनै मुस्किल भएको किसानहरुले बताएका छन् । लगातार मकैबालीमा क्षति पुग्न थालेपछि तराईबाट खाद्यान्न आयात बढी हुने गरेको किसान टेरले बताए ।
बैतडीमा १० हजार ५ सय ६० हेक्टर जमीनमा मकै खेती गरिँदै आएको छ । पहिला १२ हजार २ सय हेक्टर जमीनमा मकै खेती गरिँदै आएकोमा पछिल्लो बर्षहरुमा मकै खेती गर्ने किसानहरुको संख्या घट्दै गएको छ ।