Sagun Khabar
बैतडीका दामोदरको चौथो पटक मन्त्री यात्रा: को हुन् दामोदर भण्डारी ?

बैतडी – नयाँ सरकार गठन भएसंगै बैतडीका सांसद दामोदर भण्डारी चौथो पटक मन्त्री बनेका छन् । यसअघि अर्थराज्य मन्त्री र उद्योग मन्त्री भइसकेका भण्डारी फेरि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेका हुन् ।  

२०३० साल कार्तिक २० गते पाटन नगरपालिका –६ मा बुवा उदयसिंह भण्डारी र आमा कमला भण्डारीको कोखबाट दामोदर भण्डारी जन्मेका थिए । उनले २०४६ सालदेखि नै राजनीति शुरु गरेका उनका निकटहरुले बताएका छन् । 

Atrya hospital

२०४८ सालमा अनेरास्ववियु बैतडीको जिल्ला कमिटी अध्यक्ष भएका भण्डारी २०५० सालमा नेकपा एमालेको बैतडी जिल्ला कमिटी सदस्य बने । त्यसपछि भण्डारी २०५४ सालमा जिल्ला कमिटी उपसचिव भए । २०५६ देखि २०६४ सम्म नेकपा एमाले बैतडीको सचिव रहेका भण्डारी पार्टी अध्यक्षात्मक प्रणालीमा गएपछि एमाले बैतडीको अध्यक्ष बने । 

सक्रिय राजनीतिमा होमिएका भण्डारी लगातार जित निकाल्दै आएका छन् । २०७० सालको दोश्रो संविधान सभा निर्वाचनमा बैतडी क्षेत्र नं १ बाट जित हासिल गरेका भण्डारीले २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि जित हात पारेका थिए । २०७९ मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनमा माओवादी केन्द्रका नरेन्द्र कुँवरलाई पराजित गर्दै भण्डारी विजयी भएका थिए । 

यसअघि उद्योग मन्त्री भएर काम गरिसकेका भण्डारी फेरि मन्त्री बनेका छन् । २०७० को निर्वाचनमा भण्डारी बैतडी–१ बाट ११ हजार ६७२ मत ल्याएर पहिलोपटक संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । उतिवेला उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका लोकराज अवस्थीले १० हजार ३१४ मत पाएका थिए ।

२०७४ सालको निर्वाचनमा वाम गठबन्धनका तर्फबाट भण्डारीले ११ हजार २३३ को मतान्तरले कांग्रेस उम्मेदवारलाई नरबहादुर चन्दलाई हराएका थिए । त्यतिवेला उनले ३९ हजार ५२४ मत ल्याएका थिए । 

तेस्रो पटक २०७९ मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रका नेता नरेन्द्र कुँवरलाई पराजित गर्दै भण्डारीले सिंहदरबारको यात्रा तय गरेका हुन् । उक्त निर्वाचनमा भण्डारीले ३३ हजार ६११ मत पाएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कुँवरले ३२ हजार ८० मत ल्याएका थिए ।

विद्यार्थी जीवनबाटै राजनीतिमा होमिएका दामोदर भण्डारी एमाले अध्यक्ष ओली निकटका नेताको रुपमा रहेका छन् । एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्ष समेत भइसकेका भण्डारीको पार्टीमा बलियो पकड रहेको छ ।
 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update