Sagun Khabar
सुदूरपश्चिममा बत्ती बाल्ने महिना शुरु

बैतडी – सुदूरपश्चिममा बत्ती बाल्ने महिना शुरु भएको छ । साउन महिनालाई पहाडी समुदायले बत्ती बाल्ने महिनाको रुपमा मनाउने गरेका छन् । श्रावण महिना शुरुभएसंगै बैतडीका विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा पूजाआजा गर्ने गरिएको छ । आजका दिनदेखि देवीदेवताका मन्दिरहरुमा जाग्राम बसेर भजनकीर्तन गर्ने चलन समेत रही आएकोे स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए । बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लामा साउन महिनालाई बत्ती बाल्ने महिनाको रुपमा समेत लिने गरिएकाले मन्दिरमा बत्ती बाल्ने चलन समेत रही आएको उनले बताए ।

साउन महिनाभरी शक्तिपीठ तथा मन्दिरहरुमा पुगेर बत्ती बाल्ने, भजन किर्तन गर्ने लगायतका चलनहरु रही आएका छन् । साउन महिनामा मन्दिरहरुमा पूजाआजा गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएकाले श्रावण महिनामा मन्दिरहरुमा भक्तजनहरु जाने गरेको अनिरुद्र मन्दिरका पूजारी गणेशदत्त अवस्थीले बताए । उनले भने ‘साउन महिनाभरी देवीदेवताका मन्दिरहरुमा पूजापाठ गर्ने चलन रही आएको छ । श्रावण महिनालाई भगवान शिवको महिनाका रुपमा लिने गरिन्छ ।’

बैतडीमा सातबैनी भगवती र सातभाई केदार देवताका मन्दिर रहेकाले नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी समेत आउने गरेको स्थानीयबासीले बताएका छन् ।

Atrya hospital

जिल्लाका त्रिपुरासुन्दरी, निङगलाशैनी, डिलाशैनी, मेलौली भगवती मन्दिर, रौलाकेदार, सिगासधुरा दोगडाकेदार, उदयदेव मन्दिर, शिवनाथमा भक्तजनहरु दर्शनका लागि पुग्ने गरेका छन् । 

जिल्लाको सुर्नया गाउँपालिकामा रहेको रौलाकेदार मन्दिर, सिगास मन्दिर, दशरथचन्द नगरपालिकामा रहेको ग्वाल्लेक केदार, जगन्नाथ मन्दिर, ईश्वरी गंगाधाम, सिगास गाउँपालिकामा रहेको सिगासधुरा मन्दिर, दोगडाकेदारमा रहेको दोगडाधाम, शिवनाथमा रहेको शिवनाथ मन्दिरमा श्रावणको महिनाभरी दर्शनार्थीहरुले दर्शन गर्न गर्दछन् । 

श्रावण महिनाभरी मन्दिरमा राती जाग्राम बस्ने र बत्ती बाल्ने चलन रही आएको छ । जिल्लाबाट बसाइसरेकाहरु पनि मन्दिरमा पूजापाठ गर्नका लागि यो महिना जिल्ला भित्रिने गर्दछन् ।

जिल्लाको प्रसिद्ध रौलाकेदार धाममा श्रावण महिनाभरी दर्शनार्थीहरु घुइँचो रहने गरेको मन्दिरका पूजारी विष्णुदत्त भट्टले बताए । उनले भने ‘आजदेखि रौलाकेदारमा दर्शन गर्नेहरु पुग्न थालेका छन् । यो महिनाभरी मन्दिरमा दर्शनार्थीहरु घुइँचो लाग्ने गर्दछ ।’

रौलाकेदारको दर्शन गरेमा मनोकामना पूर्ण हुन जनविश्वास रही आएको पूजारी भट्टले बताए । रौलाकेदारको दर्शन गरेमा बद्रीकेदारको दर्शन गरे जत्तिकै फल प्राप्त हुने विश्वास रही आएको उनले बताए । 

यस्तै जिल्लाको सिगास गाउँपालिकास्थित सिगासधुरा धाममा पनि श्रावण महिनामा दर्शनार्थीहरुको भीड लाग्ने गर्दछ । भगवान शिवको बासस्थानको रुपमा सिगासधुरालाई लिने गरिएको छ । सिगासधुराको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए । उनले भने ‘प्रमुख धार्मिक सम्पदा मध्ये सिगासधुरा धाम पनि एक हो । यो महिना सिगासधुराको दर्शन गर्नेहरु पुग्ने गर्दछन् । सिगासधुराको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।’ 

 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १४:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update