बैतडी– दलित तथा पछाडि पारिएका समुदायका उत्थानका लागि क्रियाशील गैरसरकारी संस्था दलित समाज विकास मञ्च बैतडीले २१ औं स्थापना दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाएको छ ।
बिहीबार बैतडी सदरमुकाममा विभिन्न कार्यक्रमको आयोजना गरेर संस्थाको स्थापना दिवस मनाइएको संस्थाकी अध्यक्ष सरस्वती नेपालीले बताइन् । दलित समाज विकास मञ्च स्थापना भएको २१ बर्ष पुगेको अवसरमा जिल्ला अस्पताल बैतडीमा उपचाररत बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । यस्तै जिल्ला अस्पताल बैतडीमै रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)लाई हिंसा प्रभावित महिलाहरुका लागि लत्ताकपडा र अन्य सामग्री हस्तान्तरण गरिएको छ ।
समाज स्थापना दिवसको अवसरमा दशरथचन्द नगरपालिका ५ पल्लाचौंडालीका आगलागी पीडित सरस्वती लुहारलाई खाद्यान्न सामग्री सहयोग गरिएको अध्यक्ष नेपालीले बताइन् ।
दिवसको अवसरमा समाजको कार्यालयमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा, सुरक्षा निकायका प्रतिनिधि र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
दलित समाज विकास मञ्चले लामो समयदेखि समाजमा रहेका विभिन्न विकृति विसंगति हटाउँदै पछाडि परेका वर्गको उत्थानका लागि काम गर्दै आएको समाजका सचिव बलभद्र दयालले बताए ।