Sagun Khabar
महिला एशिया कप क्रिकेटमा नेपालको ऐतिहासिक जीत, यूएई ६ विकेटले पराजित

महिला एशिया कप टी–२० क्रिकेटमा नेपालले ऐतिहासिक जीत हात पारेको छ । आज भएको उद्घाटन खेलमा नेपालले यूएईलाई ६ विकेटले हरायो । प्रतियोगितामा तेस्रो पटक सहभागिता जनाएको नेपालको यो पहिलो जित हो ।
यूएईले दिएको १ सय १६ रनको लक्ष्य नेपालले १६ ओभर १ बलमा ४ विकेट गुमाएर भेटायो । नेपालकी ओपनर ब्याटर सम्झना खड्काले अर्धशतक बनाइन् । उनले ४५ बलमा नट आउट ७२ रन जोडिन् । यूएईकी कविशा इगोदागेले ३ विकेट लिइन् ।

यसअघि श्रीलङ्काको दम्बुलामा टस हारेर ब्याटिङ गरेको यूएईले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन बनायो । यूएईकी खुशी शर्माले ३६, कविशा इगोदागेले २२ रन बनाइन् । नेपालकी कप्तान इन्दु बर्माले ३ तथा सबनम राई, कृतिका मरासिनी र कविता जोशीले समान १ विकेट लिइन् ।

Atrya hospital

नेपाल र यूएईको खेलपछि आजै भारत र पाकिस्तान खेल्दैछन् । आजदेखि शुरु भएको नवौँ संस्करणको महिला एशिया कप प्रतियोगिताको फाइनल खेल आउँदो जुलाई २८ मा हुनेछ ।

नवौँ संस्करणको प्रतियोगिता यस पटक चार टेस्ट र चार एसोसिएट गरी आठ वटा देश सहभागी छन् । एशिया कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपाल, यूएई, भारत र पाकिस्तान छन् । यस्तै समूह ‘बी’ मा आयोजक श्रीलङ्कासहित, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड छन् ।

एशिया कपमा नेपालको यो तेस्रो सहभागिता हो । यसअघिका प्रतियोगितामा नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १७:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update