Sagun Khabar
जहाज दुर्घटनामा क्याप्टेनको जीवितै उद्धार, १८ जनाको ज्यान गयो
Atrya hospital

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान भएको सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको ज्यान गएको छ । जहाजका क्याप्टेनको सकुशल उद्धार गरिएको छ । दुर्घटना भएको जहाजमा सौर्य एअरलाइन्सकै प्राविधिक र इन्जिनियरहरू रहेका प्रहरीले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले  दिनुभएको जानकारीअनुसार जहाजमा १७ जना प्राविधिक र इन्जिनियर तथा दुई जना चालक दलका सदस्य थिए । जहाजका क्याप्टेन मनिष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको पनि उहाँले बताउनुभयो । शाक्यको टाउकोमा चोट लागेको छ । १८ जनाको शव निकालिएको नेपाली सेनाले जानकारी दिएको छ । नेपाल प्रहरीले भने १५ जनाको ज्यान गएको र चार जनाको उद्धार गरिएको जनाएको छ । बिहान ११ बजेतिर पोखरा उड्ने क्रममा सौर्य एअरलाइन्सको जहाज धावनमार्ग छाडिसकेपछि भुइँमा बजारिएको हो । भुइँमा बजारिएपछि जहाजमा लागेको आगो निभाइएको छ । इन्जिन परीक्षणका लागि प्राविधिक र इन्जिनियर लिएर जहाज पोखरातर्फ उड्न लागेको बुझिएको छ । जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण बन्द गरिएको छ ।काठमाण्डौ आउँदै गरेका जहाजलाई डाइभर्ट गरिएको छ । उद्धारको काम सकिएपछि मात्रै उडान र अवतरण शुरु हुने विमानस्थलले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update