Sagun Khabar
धर्मदेखि प्रकृतिसम्म महत्त्वपूर्ण सर्प

आज नागपञ्चमी पर्व, नाग अर्थात् सर्पको विशेष पूजा गरेर नागपञ्चमी मनाइएको छ । प्रत्येक वर्ष नागपञ्चमीका दिन नागको पूजा गरिन्छ । नेपाली हिन्दू र बौद्ध धर्म तथा परम्परामा सर्पलाई पवित्र मानिन्छ । भगवान् विष्णु शेषनागको शय्यामा सुत्ने र भगवान् शिवले नागमाला लगाउने पौराणिक आख्यान छ । साथै समुद्र मन्थन गर्दा वासुकिनागको नेती बनाइएको कथा पनि पुराणहरूमा पाइन्छ । धर्ममा पवित्र मानिएको सर्पको महत्त्व प्रकृतिमा पनि विशेष रहेको आधुनिक वैज्ञानिक अध्ययनहरूले देखाएका छन् ।

पारिस्थितिकीय प्रणालीलाई सन्तुलित बनाउन

सर्पले पर्यावरण चक्रलाई सन्तुलित बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ । सर्पले जिउँदा जीवजन्तुलाई मारेर खान्छ । यसबाट प्रकृतिमा चाहिनेभन्दा बढी हुने कतिपय जीवजन्तुको सङ्ख्या घटाउन सर्पको भूमिका हुन्छ । सर्पले सर्पदेखि अरू धेरै प्रकारका जीवजन्तु खान्छ । यस्तै सर्प चिल, लाटोकोसेरो, मयूर, जङ्गली बिरालो जस्ता जीवजन्तुको आहारा पनि बन्छ । अध्ययनअनुसार एक वर्षमा एक जोडी मुसाबाट १५ सय मुसा जन्मिन्छन् । यसरी अत्यधिक सङ्ख्या विस्तार गर्ने मुसालाई दुलोभित्रै पसेर खोजी खोजी मार्ने भएकोले मुसाको नियन्त्रणमा सर्पको भूमिका ठूलो हुन्छ । यसरी सर्पका कारण प्रकृतिलाई फाइदा छ, त्यो भनेको मानिसलाई पनि फाइदा हो । वैज्ञानिकहरूले ५० प्रतिशतसम्म अन्न मुसाका कारण नष्ट हुने अनुमान गरेका छन् । यदि सर्प भएन भने मुसाको सङ्ख्या थेगिनसक्नु हुने र मानिसलाई खाद्य सङ्कट आउने वैज्ञानिकहरू बताउँछन् ।

Atrya hospital

औषधि निर्माणदेखि रोग नियन्त्रणसम्म

मानिसको बारीदेखि भकारीसम्म पुगेर अन्न नष्ट गर्ने मुसादेखि कृषि हानिकारक कीराफट्याङ्ग्राको सङ्ख्या नियन्त्रणका लागि सर्पको भूमिका महत्त्वपूणर् हुन्छ । योसँगै विभिन्न महामारी नियन्त्रणदेखि कडा रोकको औषधि बनाउनसमेत सर्प उपयोगी रहेको सर्पविज्ञ डा। देवप्रसाद पाण्डे बताउनुहुन्छ ।

आधुनिक उपचारपद्धतिमा विश्व स्वास्थ्य सङ्गठनले सिफारिश गरेका र कममात्रै नकारात्मक प्रभाव पार्ने अचूक औषधिहरू सर्पबाट बन्छन् । क्यान्सर भएका बिरामीको दुखाइ कम गर्ने औषधि सर्पको विषबाट बन्छ । गोमन सर्पको विषबाट कोब्रोक्सिन भन्ने औषधि बनेको छ, त्यसले दुखाइ कम गर्छ । शरीरबाट रगत बाहिर निस्कँदा रोक्न वा शरीरमा रगत जम्दा खुलाउने उपचारमा प्रयोग गरिने औषधि पनि सर्पको विषबाट बन्छ । सर्पदंशकै उपचारमा प्रयोग हुने एन्टी - स्नेक भेनम पनि सर्पको विषबाट बनाइन्छ ।

आधुनिक स्वास्थ्य विज्ञान मात्र नभई परम्परागत आयुर्वेदिक र होमियोपेथिक उपचारपद्धतिमा पनि सर्पका विभिन्न अङ्गहरूको विशेष महत्त्व छ । सर्पको बोसो, काँचुली, रगत र विष आयुर्वेदिक औषधि बनाउन प्रयोग हुन्छ । बाली पाक्दै गरेको खेतमा काँचुली जलायो भन्ने बालीमा रोग लाग्दैन भन्ने विश्वास पाइन्छ । हैजा भएको गाईवस्तुको गोठमा काँचुली बाल्यो भने अरू जनवारहरूलाई त्यो सर्दैन भन्ने मान्यता छ । यस्तै विभिन्न महामारी फैलाउन सहयोग गर्ने मुसालगायतका जीवजन्तुलाई नियन्त्रण गरी महामारी फैलनबाट रोक्न पनि सर्पको भूमिका रहेको सर्पविज्ञ पाण्डे बताउनुहुन्छ ।

महत्त्वपूर्ण भएकैले सर्पको पूजा

शताब्दीयौँदेखि हामीले नागपञ्चमी मनाएर सर्पको पूजा गर्नुको अर्थ सर्पले हामीलाई फाइदा गर्छ भन्ने नै रहेको सर्पविज्ञ एवम् कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनमा सह(प्रध्यापक डा। देवप्रसाद पाण्डे बताउनुहुन्छ । नागपञ्चमी मनाएर सर्पको पूजा गर्नुको अर्थ हामीले सर्पले हामीलाई फाइदा गर्छ भनेर मानेको हो । सर्पहरू हामीलाई काम लाग्ने मित्र हुन्, यिनीहरू पूजनीय हुन्, यिनीहरूलाई हामीले जोगाउनुपर्छ भन्ने जानेर नै परापूर्वकालका ऋषिमुनिहरुले सर्पको पूजा गर्ने परम्परा चलाएका सर्पविज्ञ पाण्डेको विश्वास छ । हिन्दू र बौद्ध दुवै धर्ममा सर्पसँग जोडिएका धेरै कथाहरू छन् । यस्ता कथामा सर्पको धेरै महत्त्व रहेको चर्चा सुनिन्छ ।

मानव–सर्प द्वन्द्व घटाउनु आवश्यक

सर्प धर्ममा पूजनीय र प्रकृतिमा महत्त्वपूर्ण हुँदाहुँदै पनि सर्प–मानव द्वन्द्वका घटना बढिरहेका छन् । नागपञ्चमीकै अघिल्लो दिन अर्थात् बिहीवार मात्रै पनि घरमै सुतिरहेको बेला सर्पले टोकेर बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर १ मा नौ महिने शिशु र ११ वर्षकी बालिकाको ज्यान गयो । नेपालमा तराई भेगमा मात्रै हरेक बर्खायाममा झन्डै ४० हजार मानिसलाई सर्पले टोक्ने गरेको र सर्पले टोकेकामध्ये झन्डै तीन हजार जनाको ज्यान जाने गरेको तथ्याङ्क पाइन्छ । तथ्याङ्कअनुसार नेपालमा मानव–वन्यजन्तु द्वन्द्वभन्दा मानव–सर्प द्वन्द्व गम्भीर समस्याका रूपमा देखिन्छ । यसैले सर्पदेखि धेरै मानिस डराउँछन् । तर आवश्यकता र खतराको दृष्टिबाट आगो र सर्प उस्तै रहेका सर्पविज्ञ देवप्रसाद पाण्डे बताउनुहुन्छ । आगोलाई राम्रोसँग प्रयोग गर्न जानेन भने त्यो विध्वंशकारी हुन्छ । तर आगो भएन भने मानिसको अस्तित्व नै खतरामा पर्छ । त्यस्तै सर्पले पर्यावरणलाई सन्तुलिन राख्छ तर मानिसलाई टोक्यो र विष शरीरमा पस्यो भने मानिसको ज्यानै जान सक्छ । तर मानिस सर्पको आहारा नभएकोले बच्ने उपायहरू अवलम्बन गरेमा टोकाइबाटै बच्न सकिने पाण्डे बताउनुहुन्छ । खतरा महसुस नगरेसम्म सर्पले आक्रमण नगर्ने उहाँको भनाइ छ ।

नेपालमा अहिलेसम्म ८१ प्रजातिका सर्प फेला परेका छन् । तर पर्याप्त अध्ययन नभएकोले सङ्ख्या बढी हुन सक्ने विज्ञहरू बताउँछन् । नेपालमा अहिलेसम्म फेला परेका ८१ प्रजातिका सर्पमध्ये १८ प्रजातिका सर्प विषालु छन् । सर्प मानिसको आहारा प्रजातिमा पर्दैन तर ओछ्यानमै पुगेर टोकेका घटनाहरू भइरहेका छन् । यसैले सरकारले सर्पदंशका घटना हुनै नदिन र भएमा तत्काल उपचारको व्यवस्थासहित मानव–सर्प द्वन्द्व घटाउने गरी काम गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update