Sagun Khabar
बैतडी समाज कैलालीले आयोजना गरेको रक्तदान महोत्सवमा ७७ जनाद्वारा रक्तदान 

कैलाली –बैतडी समाज कैलालीले आयोजना गरेको बृहत रक्तदान महोत्सवमा ७७ जनाले रगत दान गरेका छन् । 

धनगढीको पदमा नर्सिङ कलेज परिसरमा आयोजना गरिएको रक्तदान महोत्सवमा ३० जनाले पहिलोपटक रक्तदान गरेको संयोजक वीरबहादुर महराले बताएका छन् । शनिवार बिहान सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पालले रक्तदान महोत्सवको उद्घाटन गरेका थिए । 

Atrya hospital

बैतडी समाजले हरेक वर्ष दुई पटक रक्तदान कार्यक्रम र एक पटक स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ । बैतडी समाज कैलाली गठन भएयता एक हजार ७५ जनाले रक्तदान गरिसकेको बैतडी समाज कैलालीले जनाएको छ । समाजका रक्तदान संयोजक महराले पहिलो पटक रक्तदान गर्नेलाई रेन्वो कलर ल्याबले उनको रक्तदान गरिरहेको फोटो फ्रेम गरेर उपहार दिने बताए ।

यस्तै पहिलो पटक रक्तदान गर्नेहरुलाई धनगढी–४, उत्तरबेहडीस्थित समृद्धि डेन्टलले एक वर्षका लागि निःशुल्क दन्त सेवा उपलब्ध गराउने भएको छ । रातोपुलमा रहेको डिलाईट क्याफेले पहिलो पटक रक्तदान गर्ने र उनको एक जना साथीलाई एक वर्षसम्मका लागि १० प्रतिसत छुट कार्ड उपलब्ध गराउने भएको छ ।

चटकपुरस्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले पहिलो पटक रक्तदान गर्ने रक्तदाता र परिवारको थप एक जना सदस्यलाई एक वर्षसम्म ओपिडी पर्चाको शुल्क मिनाहा गर्ने भएको छ । धनगढीकै अनुपमा बेकरीले पहिलो पटक रक्तदान गर्नेलाई उसको एउटा जन्मदिनमा एउटा केकमा ५० प्रतिसत छुट दिने भएको छ ।
 

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  १८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update