बैतडी – बैतडीसहित सुदूरपश्चिममा आज हर्षोल्लासका साथ ओल्के पर्व मनाइँदै छ । पहाडी समुदायका मानिसहरुले हरेक बर्षको भाद्र संक्रान्तिलाई ओल्के पर्वका रुपमा मनाउने गरेका छन् । ओल्के पर्वलाई जेठो पर्वका रुपमा मनाउने गरिएको स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए । ओल्के पर्वपछि अन्य चाडपर्व शुरु हुने भएकाले यसलाई जेठो पर्वका रुपमा मनाउने गरिएको उनले बताए ।
ओल्को भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ । आफूभन्दा ठूलाबडा, मान्यजन वा जेष्ठ नागरिकलाई सम्मान स्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो–मसिनो खानु यस पर्वको विशेषता रही आएको छ । यस्तै आफन्त, इष्टमित्रहरुलाई उपहार स्वरुप भेटघाट गर्ने चलन समेत रही आएको छ । तर पछिल्लो समयमा भेटघाट गर्ने चलनमा भने कमी आएको छ ।
यसका साथै बिहानै नुवाईधुवाई गरी विभिन्न परिकारहरू बनाएर कृषिसँग सम्बन्धित औजार तथा फलफूल आजका दिन आफन्तलाई ओल्को अर्थात उपहार दिने पनि गरिन्छ ।
वर्षा पछिको संकटबाट बचेको र नवजीवन प्राप्त भएको खुशियालीमा यस क्षेत्रमा ओल्के मनाउने प्रचलन रही आएको स्थानीय संस्कृतिका जानकार पण्डित देवदत्त भट्टले बताए ।
यो दिन ओल्कोको रुपमा फलफूल, सागपात, अन्न, दुध, दहि, घिउ,गूड र पकवान आदि मान्यजन र आफन्त कहाँ लगेर भेटघाट गर्न जाने चलन रही आएको छ । धेरै जसो ठाउँंमा मन्दिरमा अन्न चढाई ओल्को हाल्ने चलन रही आएको छ ।
बैतडीका विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा आज नयाँ मकै चढाएर ओल्को दिने परम्परा रहेको दशरथचन्द नगरपालिका ८ का गणेशसिंह थापाले बताए । बारीमा फलेका मकै देवीदेवताका मन्दिरमा चढाएपछिमात्रै आफूहरुले खाने चलन रहेकाले भाद्र संक्रान्तिका दिन ओल्को चढाउने गरिएको उनले बताए ।
यस्तै ओल्के पर्वमा विवाहित छोरी बहिनीहरु माइती घरमा आउने चलन रही आएको स्थानीय पण्डित शिवराज भट्टले बताए । उनले भने ‘ओल्के पर्वमा विवाहित छोरी बहिनीहरु माइतीमा आउने चलन छ । मिठोमसिनो खाने चलन रही आएको छ ।’
कतिपय ठाउँमा आजका दिनलाई ‘गब्या त्यार’भन्ने चलन रही आएको छ । आजैका दिनदेखि पिँडालुको गाबाको तरकारी खाने चलन रही आएको छ । पौष्टिकता हिसाबले गाबा निकै महत्वपूर्ण रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
आजै ‘बुढी’ हाल्ने पर्व
ओल्के संक्रान्तिका दिन गाउँ नजिकैका उच्चो टाकुरामा सबै जना मिलेर रूखका हांगाबिंगा, झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ । यो थुप्रोलाइ स्थानीय भाषामा ‘बुढी’ हालेको भन्ने गरिएको छ ।
भाद्र संक्रान्तिका दिन हालेको बुढीलाई असोज संक्रान्तिका दिन साँझको समयमा पोल्ने चलन रही आएको छ । असोजको संक्रान्तिलाई बुढी पोल्ने संक्रान्ति भन्ने गरिएको छ । यो दिन प्रत्येक घरबाट आगोको राँको लगेर सामूहिक रुपमा बुढी पोल्ने गरिन्छ ।