बैतडी – विश्व स्तनपान सप्ताहको अवसरमा बैतडीका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम सम्पन्न भईरहेका छन् । अगस्ट १ तारिख अर्थात साउन १७ गतेदेखि विश्व स्तनपान सप्ताह शुरु भएको छ । हामी सबैको जिम्मेवारी, स्तनपान संरक्षण छ प्रभावकारी भन्ने मूल नाराका साथ सप्ताहको अवसरमा विभिन्न कार्यक्रम भईरहेका छन् । विश्व स्तनपान सप्ताहको अवसरमा पारेर सुर्नया गाउँपालिका ४ स्थित भौनेली स्वास्थ्यचौकीले सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको स्वास्थ्यचौकीका प्रमुख सुरेन्द्रसिंह महराले बताए ।
स्तनपानको महत्वका बिषयमा जानकारी दिनका लागि कार्यक्रमको आयोजना गरिएको उनले बताए । शिशुलाई पूर्ण स्तनपान नगराउँदा विभिन्न खालका समस्याहरु देखा पर्ने भएकाले पूर्ण स्तनपानका बिषयमा जानकारी दिन कार्यक्रमको आयोजना गरिएको उनले बताए ।
गाउँघरमा अझै पनि स्तनपानको महत्वका बारेमा धेरैलाई थाहा नभएकाले स्तनपानको महत्वका बारेमा बुझाउनका लागि सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको सुआहारका फिल्ड सुपरभाईजर मञ्जु भट्टले बताइन् ।
यस्तै सुर्नया गाउँपालिका वडा नं ७ मा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर विश्व स्तनपान सप्ताह मनाइएको शिखरपुर स्वास्थ्यचौकीका प्रमुख बीरबहादुर बोहराले बताए ।