बैतडी–स्थानीय तहहरुको संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा बैतडीका स्थानीय तहमध्ये पुर्चौंडी नगरपालिका उत्कृष्ट भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक बर्ष २०७९÷८० को संस्थागत स्वमूल्यांकनको नतिजा अनुसार पुर्चौंडी नगरपालिकाले ८१.२५ प्रतिशत अंक पाएको छ ।
सबैभन्दा पुछारमा रहेको सुर्नया गाउँपालिकाले ४०.२५ प्रतिशत अंक पाएको छ । मन्त्रालयले सार्वजनिक गरेको नतिजा अनुसार दोगडाकेदार गाउँपालिकाले ७३.५० प्रतिशत अंक पाएको छ । यस्तै दशरथचन्द नगरपालिकाले ७०.२५ प्रतिशत, शिवनाथ गाउँपालिकाले ६७.५० प्रतिशत,डिलाशैनी गाउँपालिकाले ६४प्रतिशत, सिगास गाउँपालिकाले ६३.७५ प्रतिशत, पञ्चेश्वर गाउँपालिकाले ५९.५०प्रतिशत, मेलौली नगरपालिकाले ५७.२५ प्रतिशत र पाटन नगरपालिकाले ४८.२५ प्रतिशत अंक प्राप्त गरेको छ ।
शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, बार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन, बित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, समन्वय र सहकार्य गरी १० ओटा सूचकमा मूल्यांकन गर्ने गरिएको मन्त्रालयले जनाएको छ ।
स्थानीय तहहरुको कार्यप्रक्रिया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रकृया र विकास व्यवथापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरू पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारवीच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको अवधारणा ल्याइएको मन्त्रालयले जनाएको छ ।