Sagun Khabar
गौरा पर्वको मुख्य दिन ‘अठ्यावाली’आज 

बैतडी–सुदूरपश्चिमको मुख्य पर्व गौरा अन्तर्गत आज अठ्यावाली मनाइँदैछ । हिजो गौराघरमा भित्र्याएको गौरालाई आज गौरा खलामा लगेर ब्रतालु महिलाहरुले पूजाआजा गर्ने गर्दछन् । 

बिरुडापञ्चमीका दिन भिजाएका बिरुडाले गौरादेवीको पूजाआजा गर्ने चलन रही आएको छ । ब्रतालु महिलाहरुले भगवान गौरा –महेश्वरमा आधारित सगुन फाग गाएर गौरादेवीको पूजा गर्ने गर्दछन् । 

ब्रतालु महिलाहरुले दिनभरी गौरादेवी पूजाआजा गरी आजै दुबधागो समेत धारण गर्ने परम्परा रही आएको छ । ब्रतालु महिलाहरुले गौरादेवीको पूजन गरिसकेपछि गौराको प्रसादको रुपमा रहेको बिरुडाले आफ्ना श्रीमान, छोराछोरी, आफन्त तथा मान्यजनहरुको टाउको पुज्ने चलन रही आएको छ । 

Atrya hospital

दिनभरी गौरा र महेश्वरको उत्पत्ति,गौरा र महेश्वरको हुर्काइ, बढाई, गौरा र महेश्वरको विवाह प्रसंग लगायतका कुराहरुमा अठ्यावालीमा समेट्ने गरिन्छ । यस्तै गौरा र महेश्वरको विवाहमा देवीदेवता र ऋषिहरुको आगमन भएको प्रसंग पनि अठ्यावालीमा ब्रतालु महिलाहरुले फागमार्फत समेट्ने गरेका छन् । 

अठ्यावाली सकिएपछि गौरामा चढाएका फलफूहरु गौराको प्रसादको रुपमा सबैको हातहातमा पुगोस् भनेर फल फट्काउने चलन समेत रही आएको छ । 

ब्रतालु महिलाहरुले आजै नयाँ दुबधागो धारण गर्ने गर्दछन् । पुरानो दुबधागो फेरेर नयाँ दुबधागो धारण गर्ने परम्परा रही आएको बैतडीको सुर्नयाका हरिना अवस्थीले बताइन् । 

यस्तै गौरापर्वको अवसरमा विभिन्न देवीदेवताका गाथामा आधारित ठाडो खेल, ढुस्को, धमारी खेल्ने चलन रही आएको छ । यस्तै सामूहिक रुपमा देउडा खेल्ने चलन समेत रही आएको छ । 

पौराणिक कालमा हिमालय पुत्री गौरीले कठोर व्रत बसेर भगवान शिवलाई पतिका रूपमा पाएको धार्मिक मान्यता रहेकाले गौरा पर्वमा महिलाहरू सौभाग्य प्राप्तिका लागि निराहार व्रत बस्ने चलन छ ।

गौरा पर्व भाद्र शुक्ल अथवा कृष्ण पञ्चमीबाट शुरु हुने गर्दछ । यो बर्ष भाद्र कृष्ण पञ्चमीबाट गौरा शुरु भएकाले यो गौरालाई अँधेरी गौरा भन्ने चलन छ । पञ्चमीका दिन भिजाएका बिरुडाले गौराको पूजाआजा गर्ने गरिन्छ । अरु बेला देवीदेवताको पूजाआजा गर्दा अक्षताको प्रयोग गर्ने गरिएको भएपनि गौराको पूजा भने बिरुडाले गर्ने चलन रही आएको छ । 

गौराका लागि परदेश गएकाहरु पनि घर फर्किएकाले गाउँघरमा रौनक बढेको छ । बर्षको दिन चाडपर्व र एकआपसमा भेटघाट हुने भएकाले गाउँघरमा रमाइलो वातावरण बनेको दशरथचन्द नगरपालिका ७ का दत्तराम बडूले बताए । 

बसाइसराई गरेर गएकाहरु पनि गौराका लागि थातथलोमा फर्केकाले पारिवारिक मिलन र समाजिक सद्भावको वातावरण बनेको उनले बताए । गौरालाई सामाजिक सदभावको पर्वको रुपमा समेत लिने गरिएको बडूले बताए । 
 

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  ०७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update