काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित संस्थापक महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट हटाएको छ ।
रास्वपाको केन्द्रीय समितिको आज बसेको बैठकले ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो । यसअघि रास्वपाले साधारण सदस्यबाट तपाईंलाई किन नहटाउने भन्दै उहाँलाई दुई पटक स्पष्टीकरण सोधेको थियो । तर ढकालले दिएको जवाफ स्पष्टीकरण नभई कुण्ठा व्यक्त गरिएको नेताहरूले बताएका छन् ।
गएको असार २५ गते बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाएको थियो । त्यसपछि ३५ दिनभित्र कारबाही उपर पुनरावलोकन गर्ने अवधिमा उनले पुनरावेदन गरेनन् । उनले आफूमाथिको कारबाही वैधानिक नरहेको दाबीसहित निर्वाचन आयोगमा निवेदन दिएका छन् । ढकालले दिएको निवेदनमा आयोगले अहिलेसम्म कुनै निर्णय गरिसकेको छैन ।
पार्टीले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि ढकालले न्यायिक निकायले आफूमाथिको कारबाही बदर गर्ने प्रतिक्रिया दिएका छन् । उनले सामाजिक सञ्जालमा न्यायिक निकायले कारबाहीलाई बदर गरेपछि नैतिकताका आधारमा सभापति रवि लामिछानेले पार्टीको साधारण सदस्यबाट राजीनामा दिनुपर्ने उल्लेख गरेका छन् ।