Sagun Khabar
भारतले धौलीगंगा बाँध खोल्ने, महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह 

बैतडी–भारतको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएको छ । एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले परियोजनाको बाँध भदौ १५ गते दिउँसो १२ बजेदेखि भदौ १६ गतेसम्म खोलिने जनाएको छ ।

बाँध खोलेको समय र त्यसपछिका केही घण्टा महाकाली नदीमा जलस्तर बढ्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए ।

Atrya hospital

धौलीगंगा पावरस्टेशनमा सिल्ट सरसफाइका लागि बाँध खोल्ने तयारी भएको बताइएको छ । बाँध खोलेको बेला नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।

दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकाली नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले नदी छेउछाउमा नजान र सतर्कता अपनाइ राख्न आग्रह गरिएको हो ।

यसअघि भदौ १ र २ गते भारतीय पक्षले धौलीगंगा बाँध खोलको थियो । धौलीगंगा जलविद्युत परियोजनाको बाँध वर्षातको बेला सिल्ट सरसफाइका लागि बेला–बेला खोल्ने गरिएको छ । परियोजनाको बाँध खोल्नुपूर्व सतर्कताका लागि भारतीय पक्षले नेपाली पक्षलाई जानकारी गराउने गरेको छ ।

वि सं २०७० असार २ र ३ गते एक्कासी धौलीगंगाको बाँध खोलेपछि दार्चुला सदरमुकाममा सयभन्दा बढी घर बगाउनुका साथै अर्बौँ रुपैयाँको क्षति भएको थियो ।

पछिल्लो समयमा धौलीगंगा बाँध खोल्नुपूर्व जानकारी दिने गरिएकाले क्षति न्यूनीकरण गर्न सहयोग पुगेको छ भने नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन सहज भएको छ ।

DAO-Darcula-1724931109.jpg
 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update