Sagun Khabar
बैतडीको दोगडाकेदारमा झडप : दुई जना घाइते, तीन जना पक्राउ 

बैतडी–बैतडीमा गौरा पर्वको मेलामा दुईपक्षबीच झडप हुँदा दुईजना घाइते भएका छन् ।  घाइते हुनेमा दोगडाकेदार गाउँपालिका ४ श्रीकेदार घर भइ नेपाली सेनाको गुरूबक्स गुल्म कैलालीमा कार्यरत २३ वर्षीय नरेन्द्र बिष्ट र दोगडाकेदार ४ कै ३० वर्षीय सुरजसिंह ठगुन्ना रहेका छन् । 

स्थानीय लटैनाथ मन्दिरमा लागेको गौरा मेलामा बिहिवार बेलुका झडप हुँदा उनीहरू दुबैजना घाइते भएका दोगडाकेदार गाउँपालिका वडा नं ४ का वडाध्यक्ष तर्कराज भट्टले जानकारी दिए ।

Atrya hospital

गौरा पर्वका लागि घर आएका नेपाली सेनामा कार्यरत बिष्टको झडपमा परेर टाउकोमा चोट लागेको छ । उनको टाउकोमा ११ टाँका लागेको वडाध्यक्ष भट्टले बताए । यस्तै सुरजको मुखमा चोट रहेको छ । 

दुवै जनाको स्थानीय श्रीकेदार स्वास्थ्यचौकीमा प्राथमिक उपचार गरिएको र थप उपचारका लागि धनगढी लैजाने तयारी भएको वडा अध्यक्ष भट्टले जानकारी दिए ।

घटनामा संलग्न रहेको भन्दै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । दोगडाकेदार गाउँपालिका ५ गोबडाका किरन चन्द, रोशन चन्द र सञ्जय चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । उनीहरुमाथि नक प्रहार गरेर घाइते बनाएको आरोप लागेको छ । 

पक्राउ परेका तीनैजना इलाका प्रहरी कार्यालय पाटनको नियन्त्रणमा रहेका छन् । वादविवाद हुँदा दुईपक्षबीच झडप भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update