Sagun Khabar
डिलाशैनी गाउँपालिकाले गर्यो स्वास्थ्य कार्यक्रमको समीक्षा 

बैतडी–बैतडीको डिलाशैनी गाउँपालिकाले स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समीक्षा सम्पन्न गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरेर बार्षिक समीक्षा सम्पन्न गरिएको डिलाशैनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम नाथले बताए । 

बार्षिक समीक्षा कार्यक्रममा पालिकाभरीका सातओटै स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । समीक्षामा गत आर्थिक बर्षमा पालिकामा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको बारेमा छलफल गरिएको नाथले बताए । 

Atrya hospital

पालिकाले स्वास्थ्य क्षेत्रमा अघि सारे कार्यक्रम र सशर्त कार्यक्रमहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सहयोग पुर्याएको भन्दै सातओटै स्वास्थ्य संस्थाहरुलाई सम्मान समेत गरिएको छ । 

पालिकाले आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच पुर्याउनका लागि प्रयास गरिरहेको स्वास्थ्य शाखा प्रमुख नाथले बताए । स्वास्थ्य संस्थाहरुमार्फत विभिन्न रोगहरुको रोकथाम र नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रमहरु सञ्चालनमा रहेका छन् भने उपचारात्मक सेवा पनि सञ्चालनमा रहेका छन् । 

सुरक्षित मातृत्व, बाल स्वास्थ्य, खोप कार्यक्रम, उपचारात्मक कार्यक्रम लगायतका नियमित कार्यक्रमहरुलाई निरन्तरता दिनका लागि अपनाउनुपर्ने रणनीतिका बिषयमा समेत समीक्षा कार्यक्रममा छलफल भएको छ । 

समीक्षामा चालु आर्थिक बर्षका लागि कार्ययोजना समेत बनाइएको स्वास्थ्य शाखा प्रमुख नाथले बताए । 

स्वास्थ्य कार्यक्रमको बार्षिक समीक्षा कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशी लगायतका जनप्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  ०८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update