Sagun Khabar
बाढी र पहिरोले मूहान बगाएपछि हरिचन,घोगेडा र रीगामा खानेपानीको समस्या 

बैतडी–बैतडीको सुर्नया गाउँपालिका –५ हरिचन र वडा नं –६ को रीगा र घोगेडामा खानेपानीको समस्या भएको छ । बिहीबार रातिको भारी बर्षाका कारण आएको बाढी र पहिरोले खानेपानीका मूहान बगाएपछि खानेपानीको समस्या भएको स्थानीयहरुले बताएका छन् । 

हरिचनमा पहिरोले खानेपानीको मूहान र पाइप लाइन बगाएपछि आधा घण्टाको दुरीबाट खानेपानीको बोकेर ल्याउनुपर्ने बाध्यता सिर्जना भएको स्थानीय भागरथी मडैले बताइन् । बिहीबार रातिको बर्षाले खसेको पहिरो र खोलामा आएको बाढीले खानेपानीको मूहान बगाएको उनले बताइन् । 

Atrya hospital

हरिचनमा ८० घरपरिवारलाई अहिले खानेपानीको समस्या भएको स्थानीय कमला मडैले बताइन् । कुनै घरपरिवारले एकघण्टाको दुरीबाट पानी बोक्नुपर्ने बाध्यता आएको उनले बताइन् । पहिरोले खानेपानीका ट्यांकी र पाइपहरु बगाएको उनले बताइन् । उनले भनिन् ‘पहिरोले खानेपानीको मूहानमा बनाएको ट्यांकी बगाइसकेको छ । पाइपहरु सबै बगाइसकेको छ । अहिले हामीलाई खानेपानीको निकै समस्या भएको छ ।’

बिहीबार रातिको बर्षाले खसेको पहिरो र बाढीले सलमे खानेपानी योजनाको ट्यांकी र पाइप बगाएको स्थानीय चक्र मडैले बताए । गाउँमा खानेपानीको हाहाकार भएको उनले बताए । वस्तुभाउका लागि समेत बोकेर खानेपानीको व्यवस्थापन गर्नुपरिरहेको उनले बताए । 

यस्तै घोगेडा खोलामा आएको बाढीले पानीका मूहान र पाइप बगाउँदा घोगेडा र रीगामा खानेपानीको समस्या भएको स्थानीय जगदीश कुँवरले बताए । घोगेडा खोलामा आएको बाढीले ६ ओटा खानेपानीका मूहान बगाउँदा गाउँमा खानेपानीको समस्या भएको उनले बताए । उनले भने ‘बाढी र पहिरोले खानेपानीको मूहान बगाएपछि धेरै समस्या भएको छ । गाउँमा जाने सबै खानेपानी अवरुद्ध भएको छ ।’

बिहीबार राति आएको बाढी र पहिरोले लाखौंको क्षति पुर्याएको स्थानीयहरुले बताएका छन् । घोगेडा खोलामा आएको बाढीले मकैबाली र धानबालीमा व्यापक क्षति पुर्याएको छ । 

क्षति पुर्याएका ठाउँमा खानेपानीका संरचना पुननिर्माणका लागि स्थानीय सरकारसंग आग्रह गरिएको हरिचनका चक्र मडैले बताए । यो अवस्थामा स्थानीय सरकारले सहयोग गर्नुपर्ने उनले बताए । 
 

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update