Sagun Khabar
बैतडीमा जिप दुर्घटना अपडेट : घाइते सविनाको मृत्यु 

बैतडी–बैतडीमा जिप दुर्घटना हुँदा घाइते भएकी सविना महराको मृत्यु भएको छ । जिल्लाको सुर्नया गाउँपालिका ८ घर भएकी १८ बर्षीया सविनाको उपचारका क्रममा निसर्ग अस्पताल धनगढीमा मंगलबार साँझ पौने सातबजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । 

मंगलबार बिहान सात बजेतिर जिल्लाको सुर्नया गाउँपालिका ८ ढुंगाकोटमा बाचपानीबाट दोराका लागि छुटेको सु.प.प्र.०१००ज १३५४ नम्बरको जिप दुर्घटनामा परेको थियो । 

Atrya hospital

भित्री कच्ची सडकमा जिप दुर्घटना हुँदा चालक सुर्नया गाउँपालिका ७ का लालबहादुर कुँवरसहित पाँच जना घाइते भएका थिए । घाइते मध्ये सविनालाई थप उपचारका लागि डडेल्धुरा अस्पतालबाट धनगढी रेफर गरिएको थियो । उनको उपचारका क्रममा धनगढीमै निधन भएको हो । 

दुर्घटनामा घाइते भएका चालक लालबहादुर कुँवर, सुर्नया ८ का २१ बर्षीय कृष्ण मडै, सोही ठाउँका ४५ बर्षीय मानबहादुर महरा र ४० बर्षीय धनबहादुर महरा डडेल्धुरा अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका छन् । 
चालक लालबहादुर कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई नियन्त्रणमा लिएर घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिए । 

जिप सडकबाट २० मिटर तल खसेको थियो । 
 

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  ०७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update