Sagun Khabar
निङ्गलाशैनी मन्दिरमा अनन्त चतुर्दशी मेला भदौ ३१ देखि, मेला व्यवस्थापन समिति गठन 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिका २ स्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेला भदौ ३१ गतेदेखि शुरु हुने भएको छ । भाद्र शुक्ल त्रयोदशीबाट शुरु हुने मेला भाद्र शुक्ल पूर्णिमका दिन समापन हुने गर्दछ । 

भाद्र शुक्ल त्रयोदशीका दिन भण्डार घरबाट माताको सवारी मन्दिरमा गराइने र त्यो दिनलाई स्थानीय भाषामा नानी जात भन्ने गरिएको छ । भाद्र शुक्ल चतुर्दशी अर्थात अनन्त चतुर्दशीका दिन लाग्ने मेलालाई ठूली जात भन्ने चलन रही आएको छ । 

Atrya hospital

अनन्त चतुर्दशीका अवसरमा लाग्ने मेला तीन दिन रहने मन्दिरका भण्डारे चक्रबहादुर बोहराले बताए । निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीका अवसरमा लाग्ने मेलामा सोराडी–बैतडाको जात मुख्य आकर्षणको रुपमा रहेको छ । यो जात्रामा बली नहुने भण्डारे बोहराले बताए । 

यसैबीच निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रालाई व्यवस्थापन गर्नका लागि मेला व्यवस्थापन समिति गठन गरिएको छ । मन्दिरका भण्डारे चक्रबहादुर बोहरा र स्थानीय जनप्रतिनिधिहरुको रहोबरमा नयाँ मेला व्यवस्थापन समिति गठन भएको हो । 

महेश भण्डारीको अध्यक्षतामा गठन भएको १३ सदस्यीय मेला व्यवस्थापन समितिको उपाध्यक्षमा गम्भीरसिंह बोहरा, सचिवमा भानबहादुर बोहरा, कोषाध्यक्षमा मनोज बोहरा लगायत अन्य सदस्यहरु रहेका छन् । 

यस्तै भानबहादुर बोहराको संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । उक्त समितिमा अर्जुनराम लावड र करनराम लावड सदस्य रहेका मेला व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज बोहराले जानकारी दिए । 

नयाँ गठन भएको मेला व्यवस्थापन समितिले निङ्गलाशैनी भगवती मन्दिरमा एक बर्षभरी लाग्ने मेलालाई व्यवस्थित रुपमा सञ्चालन गर्न काम गर्नेछ । निङ्गलाशैनी भगवती मन्दिरमा एक बर्षमा चार पटक मेला लाग्ने गर्दछ । ती मेलाहरुलाई व्यवस्थापन गर्ने, दर्शनार्थीहरुलाई सहज रुपमा दर्शनको व्यवस्थापन गर्ने, मेलालाई मार्यादित रुपमा सम्पन्न गर्नका लागि मेला व्यवस्थापन समितिले काम गर्ने कोषाध्यक्ष बोहराले बताए । 
 

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  ०७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update