Sagun Khabar
पहिरोले बैतडीको ढोलेमा ९ परिवार विस्थापित 

बैतडी–बुधबार रातिदेखि शुक्रबार सम्म परेको अविरल बर्षाका कारण खसेको पहिरोले बैतडीको सुर्नया गाउँपालिका वडा नं ८ ढोलेमा ९ परिवार विस्थापित भएका छन् । 

पहिरोले घर नै बगाउने जोखिम बढेपछि ९ परिवारलाई सुरक्षित स्थानमा सारिएको सुर्नया गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष भानबहादुर बोहराले बताए । 

Atrya hospital

ढोलेको रातापानी टोलका ५ परिवार, मल्लो ढोलेका ३ परिवार र तल्लो ढोलेका एक परिवार गरेर ९ परिवार पहिरोका कारण विस्थापित भएका वडा अध्यक्ष बोहराले बताए । उनीहरु अहिले आफन्तको घरमा बसीरहेका छन् । 

पहिरोका कारण रातापानी टोलमा उद्धव बोहरा, धनुवा बोहरा,रामसिंह बोहरा, गम्भीरसिंह बोहरा र कृष्ण बोहराको परिवार विस्थापित भएको छ । यस्तै मल्लो ढोलेमा लाल लुहार, परमल लुहार र जहरे बोहराको परिवार विस्थापित भएको छ । 

यस्तै तल्लो ढोलेमा माने लुहारको परिवार पहिरोले विस्थापित भएको छ । 

बर्षा रोकिएपनि पहिरो खस्ने क्रम नरोकिएको वडा अध्यक्ष बोहराले बताए । पहिरो प्रभावित क्षेत्रमा विस्थापित परिवारको व्यवस्थापनका लागि आफू खटिएको बताउँदै वडा अध्यक्ष बोहराले पालिकाबाट तत्काल त्रिपाल र खानेपानीको पाइप मगाएको बताए । 

पहिरोले स्थानीयहरु खेतबारी बगाएको छ भने कठमडाका इन्द्र साउँद र तल्लो ढोलेका हरिबहादुर बोहराको घर पहिरोको जोखिममा परेको छ । 

मल्लो ढोलेमा सडक भासिएर पहिरो खसेको बताइएको छ भने रातापानी टोलमा खेतबारी नै पहिरोले लगेको वडा अध्यक्ष बोहराले बताए । 
 

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update