Sagun Khabar
बैतडीका गाउँगाउँमा भाइरल ज्वरोको प्रकोप 

बैतडी–बैतडीका गाउँगाउँमा भाइरल ज्वरोको प्रकोप देखिएको छ । मौसममा आएको परिवर्तनसंगै भाइरल ज्वरोका बिरामीहरु बढेका स्वास्थ्यकर्मीहरुले बताएका छन् । 

जिल्ला अस्पताल बैतडीमा उपचारका लागि आउने बिरामी मध्ये सबैभन्दा बढी भाइरल ज्वरोका बिरामी रहेका अस्पातलमा कार्यरत अहेव देवसिंह रावलले बताए । उनले भने ‘अहिले अस्पतालमा आउने बिरामीमध्ये सबैभन्दा बढी भाइरल ज्वरोका छन् । त्यसपछि टाइफाइड, श्वासप्रश्वास लगायतको समस्या भएका बिरामी पनि आउने गरेका छन् ।’

जिल्ला अस्पतालमा दैनिक ३० जना भन्दा बढी भाइरल ज्वरोका बिरामी पुग्ने गरेका अहेव रावलले बताए । 

Atrya hospital

प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचारका लागि आउने बिरामी मध्ये ५० प्रतिशत भाइरल ज्वरोका बिरामी रहेका पाटन प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टले जानकारी दिए । दैनिक ८० भन्दा बढी बिरामी उपचारका लागि आउने र ती मध्ये आधाजति भाइरल ज्वरोका बिरामी रहेका जनस्वास्थ्य निरीक्षक भट्टले बताए । 

जिल्लाको मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक ८० जनाको हाराहारीमा भाइरल ज्वरोका बिरामी उपचारका लागि पुग्ने गरेका जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले जानकारी दिए । प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि पुग्ने अधिकांश बिरामी भाइरल ज्वरोबाट संक्रमित रहेका उनले बताए । 

मौसम परिवर्तनका साथसाथै अस्वस्थकर खानपीनले पनि भाइरल ज्वरोको संक्रमण बढेको स्वास्थ्यकर्मीहरुको भनाइ छ । ज्वरोका बिरामीहरुले नजिकै स्वास्थ्य संस्थामा चेकजाँच गर्नुपर्नेमा दयालले जोड दिए । ज्वरोका बिरामीहरुमा अन्य संक्रमण पनि हुन सक्ने भएकाले स्वास्थ्य संस्थामा जाँच गराउनुपर्ने उनले बताए । 

जिल्लाको पुर्चौंडी क्षेत्रमा पनि अन्य बिरामीको तुलनामा भाइरल ज्वरोको बिरामीको संख्या बढेको छ । प्रकोपको रुपमा ज्वरोका बिरामी नभएपनि स्वास्थ्य संस्थामा उपचारका लागि पुग्ने मध्ये अधिकांश भाइरल ज्वरोका बिरामी रहेका पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेन्द्रप्रसाद अवस्थीले बताए । 

पछिल्लो समयमा जिल्लामा भाइरल ज्वरो मात्रै नभएर टाइफाइड, स्क्रब टाइफस, डेंगु लगायतका बिरामीहरु पनि फेला परीरहेका छन् । 

ज्वरोका बिरामीहरुले स्वास्थ्य संस्थामा चेकजाँच गराएर मात्रै औषधि सेवन गर्नुपर्ने जनस्वास्थ्य निरीक्षक दयालले बताए । ज्वरोका बिरामीहरुले मेडिकलहरुबाट आफूखुसी औषधि किनेर प्रयोग गर्ने भएकाले यसले समस्या बल्झिन सक्ने उनले बताए । जथाभावी औषधिको प्रयोगले मानवको स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउने भएकाले स्वास्थ्य संस्थामा चेकजाँच गराउनुपर्ने उनले जोड दिए । 

भाइरल ज्वरो लगायतका प्रकोपकबाट बच्नका लागि शुद्धीकरण गरिएको पानी मात्रै प्रयोग गर्नुपर्ने स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । 
 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update