Sagun Khabar
बैतडीको वसन्तपुरका थप पाँच जनामा डेंगु संक्रमण पुष्टि 

बैतडी–बैतडीको पाटन नगरपालिका वडा नं–५ वसन्तपुर कद्वारका थप पाँच जनामा डेंगु संक्रमण पुष्टि भएको छ । आइतबारमात्रै एकै गाउँका चार जनामा डेंगु संक्रमण पुष्टि भएपछि स्वास्थ्यकर्मीहरुको टोली गाउँमै पुगेको थियो । 

सोमबार आज ज्वरोका शंकास्पद सात जना बिरामीको रगत चेकजाँच गर्दा थप पाँच जनामा डेंगु संक्रमण पुष्टि भएको पाटन प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टले जानकारी दिए । 

Atrya hospital

एकै गाउँका चार जनामा आइतबारमात्रै संक्रमण पुष्टि भएपछि सोमबार आज पाँच जना स्वास्थ्यकर्मीको टोली गाउँमै पुगेर शंकास्पद बिरामीहरुको रगत परीक्षण गरेको हो । 

स्वास्थ्यकर्मीको टोलीले लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान अन्तर्गत सरसफाइ समेत गरेको उनले बताए । भरेर राखेका पानीका ड्रम, पानी जमेका खाल्डाखुल्डीमा लामखुट्टेको वृद्धि विकास हुने भएकाले सरसफाइमा ध्यान दिन स्थानीयहरुलाई सुझाव दिइएको जनस्वास्थ्य निरीक्षक भट्टले जानकारी दिए । स्थानीय नागरिकहरुलाई एकै ठाउँमा जमा गरेर डेंगु रोगका र यसबाट बच्ने उपायका बारेमा जानकारी दिइएको भट्टले बताए । 

एडीस जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा डेंगु सर्ने गर्दछ । डेंगु रोगको संक्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । 

डेंगु संक्रमण भएमा मानिसलाई कडा खालको ज्वरो आउने, टाउको दुख्ने, शरीरका जोर्नी तथा मांसपेशी दुख्ने, खाना खान मन नलाग्ने जस्ता लक्षण देखिन्छन् । यसका साथै नाक, गिजा र पेटबाट रगत बग्नेजस्ता कडा खालका लक्षणसमेत देखा पर्ने स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए । 

यस्ता खालका लक्षण देखिएमा डेंगुको जाँच गर्नु आवश्यक रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । डेंगुको जाँच नगरीकनै जथाभावी औषधि सेवन गर्दा अन्य समस्या समेत निम्तिने भएकाले यो तर्फ सबै नागरिक सचेत हुनुपर्नेमा भट्टले जोड दिए ।

बैतडीका गाउँगाउँमा ज्वरोका बिरामीहरु रहेका छन् । ज्वरोका बिरामीहरुमा डेंगु समेत हुन सक्ने भएकाले नजिकको स्वास्थ्य संस्थामा गएर चेकजाँच गर्न समेत स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् । 
 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update