Sagun Khabar
सुदूरपश्चिममा आज ‘बुढी पोल्ने’पर्व मनाइँदै

बैतडी –बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा आज बुढी पोल्ने पर्व धुमधामसंग मनाइँदैछ । विजय उत्सवको रुपमा मनाइने यो पर्वमा बुढी अर्थात राक्षसीे पुतनालाई पोल्ने गरिन्छ । 

भाद्र संक्रान्तिका दिन गाडिएको बुढीलाई आज साँझ पोल्ने चलन रही आएको स्थानीय संस्कृतिका जानकार आर्चाय घनश्याम लेखकले बताए । द्वापर युगमा भगवान श्री कृष्णले राक्षसी प्रवृतिकी पुतनालाई मारेपछि सोही दिनको सम्झनामा बुढी पोल्ने गरिएको उनले बताए । 

Atrya hospital

द्वापर युगमा विशाक्त दुध सेवन गराई बालबालिकाहरुको ज्यान लिने गरेकी राक्षसी पुतनालाई भगवान श्री कृष्णले दुध चुसी मारेको विजयोत्सवका रुपमा बुढी पोल्ने पर्व मनाइने गरेको लेखकले बताए । 

सुदूरपश्चिममा भाद्र संक्रान्तिका दिन गाडिएको बुढीलाई आज साँझपख पोल्ने र सोही ठाउँमा काक्रा खाँदै लुतो फाल्ने  प्रचलन समेत रही आएको छ । ओल्के संक्रान्तिका दिन गोठालाहरुले बुढीको प्रतिमा राखेपछि दैनिक त्यसमा रुखका हाँगाहरु थप्ने गर्छन् । भाद्र संक्रान्तिका गाडिएको बुढीलाई आज पोलेमा सुख शान्ति प्राप्त हुने विश्वास रही आएको स्थानीय संस्कृतिका जानकार गणेशदत्त अवस्थीले बताए । बुढी जलाउँदा बनेको खरानीको तिलक बनाएर गाईलाई लगाउने चलन समेत रही आएको छ । 

ओल्के संक्रान्तिका दिन गाडिएको बुढीलाइ आज असोज संक्रान्तिका साँझ प्रत्येक घर घरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेर ‘बूढी पोल्ने’ पर्व मनाउने परम्परा रहेको छ । पुतनाको स्वरुपमा तयार गरी सिंगारिएको बाबियोलाई आज बिहान गोठबाट निकालेर दिनभरी घाममा सुकाइ साँझ दोबाटोमा लगेर जलाउने गरिन्छ । साँझपख काँक्रो चपाएर जलेको पुतनामा फाल्दै जोडले ‘थुई बुढी थुई’ भन्ने चलन रही आएको छ । 

बुढी पोल्ने पर्व पछिल्लो समयमा लोप हुँदै गएको छ । बुढी पोल्ने पर्वको अवसरमा सिगास गाउँपालिका वडा नं ६ काँडामा देउडा कार्यक्रमको समेत आयोजना गरिएको छ । बुढी पोल्ने अवसरमा लाग्ने मेलालाई भव्य रुपमा सम्पन्न गर्नका लागि मेलास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको स्थानीय राजेन्द्र साउँदले जानकारी दिए । 
 

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  ०७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update