Sagun Khabar
बैतडीको कोटिला स्वास्थ्यचौकी ‘पेपरलेस’बन्यो 

बैतडी–बढ्दो प्रविधिको प्रयोगसंगै बैतडीको पुर्चौंडी नगरपालिका –७ स्थित कोटिला स्वास्थ्यचौकी ‘पेपरलेस’बनेको छ । स्वास्थ्यचौकीका सबै कागजी कामहरु अब इलेक्ट्रोनिक प्रविधिबाट भइरहेका स्वास्थ्यचौकीका प्रमुख सुमन लुहारले जानकारी दिए । 

गएको भदौ महिनादेखि स्वास्थ्यचौकीले सफ्टवेयर जडान गरेर कार्यालयलाई कागजरहित बनाएको लुहारले बताए । 

Atrya hospital

स्वास्थ्यचौकी पेपरलेस भएसंगै सबै कागजी कामहरु सफ्टवेयर मार्फत भइरहेका छन् । स्वास्थ्यचौकीमा उपचारका लागि आउने बिरामीको नामदर्ता देखि लिएर बालबालिकाहरुलाई लगाइने खोप, गर्भवती आमाहरुलाई लगाइने खोपको तथ्यांक पनि अनलाइनमै दर्ता गर्ने गरिएको स्वास्थ्यचौकी प्रमुख लुहारले बताए ।  

नियमित खोप लगाउने बालबालिका तथा गर्भवती आमाहरुले पनि खोपकार्ड बोक्नुपर्ने छैन् । उनीहरुको तथ्यांक दर्ता गरेर खोप लगाउनु अघि नै सेवाग्राहीको मोबाइलमा एसएमएस जाने सिस्टम बनाएको लुहारले बताए । 

बालबालिकाहरुलाई खोप लगाएपछि क्यु आर कोडसहितको इलेक्ट्रोनिक कार्ड उपलब्ध गराइने र आवश्यक परेमा जुनसुकै ठाउँमा प्रिन्ट गर्न सकिने बताइएको छ । 

पुर्चौंडी नगरपालिकाभित्रका स्वास्थ्य संस्थामध्ये कोटिला स्वास्थ्यचौकी प्रविधिमैत्री बन्दै गएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेन्द्रप्रसाद अवस्थीले बताए । 

नगरपालिकाको उत्कृष्ट स्वास्थ्यचौकीको रुपमा रहेको कोटिला स्वास्थ्यचौकीले आफ्नो सेवा प्रवाहमा निरन्तरता दिइरहेको छ । स्वास्थ्यचौकीका प्रमुख लुहार उत्कृष्ट स्वास्थ्यकर्मीको रुपमा समेत सम्मानित भएका छन् । स्वास्थ्य कार्यालयले लुहारलाई उत्कृष्ट स्वास्थ्यकर्मीको रुपमा सम्मानित गरेको हो । 
 

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  ०९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update