Sagun Khabar
बैतडीको दोगडाकेदारमा लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन 

बैतडी–बैतडीको दोगडाकेदार गाउँपालिकामा लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको छ । 

अभियान अन्तर्गत घरघरमा पुगेर लामखुट्टेको लार्भा हुर्कन सक्ने पानीका ड्रम, पानी जमेका खाल्डाखुल्डी लगायतमा सरसफाइ गर्ने गरिएको दोगडाकेदार गाउँपालिकामा कार्यरत जनस्वास्थ्य निरीक्षक जनकराज कलौनीले बताए । यसका साथै लामखुट्टेको टोकाइबाट बच्नुपर्ने बिषयमा सबै गाउँपालिकाबासीलाई जानकारी दिने काम भइरहेको उनले बताए । उनले भने ‘हामीले घरघरमा गएर डेंगुका बिषयमा जनचेतना फैलाइरहेका छौं । पानी भरिएका ड्रम, खाल्डाखुल्डी लगायतमा सरसफाइका कामहरु गरिरहेका छौं ।’

Atrya hospital

दोगडाकेदारका एकजनामा डेंगु संक्रमण पुष्टि भएपछि डेंगु रोकथाम र नियन्त्रणका लागि अभियान सञ्चालन भइरहेको जनस्वास्थ्य निरीक्षक कलौनीले बताए । 

लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियानसंगै सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्ने गरिएको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताए । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगका बिषयमा जानकारी दिनुका साथै बच्ने उपायका बारेमा जानकारी दिने गरिएको उनले बताए । 

एडीस जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा डेंगु सर्ने गर्दछ । डेंगु रोगको संक्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । 

डेंगु संक्रमण भएमा मानिसलाई कडा खालको ज्वरो आउने, टाउको दुख्ने, शरीरका जोर्नी तथा मांसपेशी दुख्ने, खाना खान मन नलाग्ने जस्ता लक्षण देखिन्छन् । यसका साथै नाक, गिजा र पेटबाट रगत बग्नेजस्ता कडा खालका लक्षणसमेत देखा पर्दछन् । 

यस्ता खालका लक्षण देखिएमा डेंगुको जाँच गर्नु आवश्यक रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । डेंगुको जाँच नगरीकनै जथाभावी औषधि सेवन गर्दा अन्य समस्या समेत निम्तिने भएकाले यो तर्फ सबै नागरिक सचेत हुनुपर्ने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताए । 

ज्वरोका बिरामीहरुमा डेंगु समेत हुन सक्ने भएकाले नजिकको स्वास्थ्य संस्थामा गएर चेकजाँच गर्न समेत स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् । बैतडीमा गएको वैशाखदेखि भदौ सम्म ७० जनामा डेंगु संक्रमण पुष्टि भएको छ । 
 

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update