Sagun Khabar
बैतडीमा पनि मनाइयो राष्ट्रिय शिक्षा दिवस 

बैतडी –बैतडीमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर राष्ट्रिय शिक्षा दिवस मनाइएको छ । जिल्लाभरीका शिक्षण संस्थाहरुले विभिन्न कार्यक्रम गरेर राष्ट्रिय शिक्षा दिवस मनाएका हुन् । 

गएको वर्षदेखि सरकारले असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवसका रुपमा मनाउन थालेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार दिवसको नारा ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता : साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने रहेको छ । 

Atrya hospital

दिवसको अवसरमा पाटन नगरपालिका ३ स्थित गुजर माविले हाजिरी जवाफ तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । दिवसको अवसरमा अन्तर सदनात्मक प्रतियोगिता सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक मदनराज अवस्थीले बताए । 

यस्तै सुर्नया गाउँपालिका ५ स्थित सिद्धनाथ आधारभूत विद्यालय धुलिधारले राष्ट्रिय शिक्षा दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर बिष्टले बताए । 

यस्तै दशरथचन्द मावि सुन्दरखालीले दिवसको अवसरमा आधारभूत कक्षा १देखि ५ सम्म महिनावारी वरदान हो अभिषाप होइन भन्ने शीर्षकमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ भने आधारभूत कक्षा ६ देखि ८ सम्म समावेशी र सीपमूलक शिक्षा, स्वदेशमै युवा राष्ट्रको इच्छा शीर्षकमा वक्तृत्वकला सम्पन्न गरेको प्रधानाध्यापक नरेन्द्रबहादुर चन्दले बताए । 

यस्तै मावि तह कक्षा ९ देखि १२ सम्म ज्ञान,विज्ञान, सीप,उद्यम र मौलिकता :साझेदारी प्रणालीगत सक्षमता शीर्षकमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको प्रधानाध्यापक चन्दले बताए । 

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने सबै तहका विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको दशरथचन्द मावि सुन्दरखालीले जनाएको छ । 

यस्तै पाटन नगरपालिका ८ स्थित ज्ञानेश्वर नमूना माविले पनि विभिन्न कार्यक्रमको आयोजना गरेर दिवस मनाएको विद्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update