Sagun Khabar
संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै

काठमाण्डौ – संविधान दिवस तथा राष्ट्रिय दिवस आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ ।

२०७२ साल असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको हो । संविधान नेपालको मूल कानून हो । तर यसको कार्यान्वयन पक्ष फितलो भएको भन्दै प्रश्न उठ्न थालेका छन् । संविधान जारी भएपछि देशमा विकास र समृद्धि आउने आशा र अपेक्षा गरिए पनि त्यसअनुसारको काम हुन सकेको छैन । राजनीतिक प्रणाली फेरिए पनि शासकको प्रवृत्ति फेरिन नसकेको भन्दै नागरिक निराश छन् । संविधानले दिएको निःशुल्क शिक्षा, रोजगारी, स्वास्थ्य सेवा, खाद्य सम्प्रभुत्ता, आवासलगायत दर्जनौं आधारभूत हकहरूको अनभूति आमनागरिकले गर्न पाएका छैनन् । मौलिक हकका धारा संविधानमा मात्रै सीमित भएको छ ।

Atrya hospital

पछिल्लोपटक संविधान संशोधनको बहस भइरहेको छ । संविधान दिवसको अवसरमा सरकारले अहिले बिहान सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मूल समारोह आयोजना गर्दैछ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ । त्यस अवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने बताइएको छ । 

आजै बेलुकी राष्ट्रपति पौडेलले राष्ट्रपति भवनमा स्वागत समारोह आयोजना गर्ने कार्यक्रम छ । संविधान दिवसका अवसरमा सङ्घ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी सङ्घ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाले पनि विभिन्न कार्यक्रम गर्दैछन् । विदेशमा रहेका नेपाली कूटनीतिक नियोगमा पनि संविधान दिवसका कार्यक्रम हुनेछन् । संविधान दिवसकै खुशीयालीमा नागरिकस्तरबाट काठमाण्डौको दरबारमार्गमा राष्ट्रिय दिवस साङ्गीतिक प्रस्तुति हुनेछ ।

यसैबीच संविधान दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष तथा विभिन्न पार्टीका शीर्ष नेताहरूले शुभकामना सन्देशमार्फत उल्लासमय वातावरणमा राष्ट्रिय दिवस भव्य रूपमा मनाउन आम–जनसमुदायलाई आह्वान गरेका छन् । सरकारले संविधान दिवसका अवसरमा दीपावली मनाउन र राष्ट्रिय झण्डा फहराउन सबैमा आह्वानसमेत गरेको छ ।
 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  ०७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update