Sagun Khabar
बैतडीको सुर्नया गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत बोहराको हाजिर नहुँदै सरुवा 

बैतडी–बैतडीको सुर्नया गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रुपमा खटाइएकी ज्योतीकुमारी बोहराको कार्यालयमा हाजिर नहुँदै सरुवा भएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बोहराको सुर्नया गाउँपालिकाबाट गृह मन्त्रालयमा सरुवा गरेको छ । 

Atrya hospital

गएको भदौ २६ गतेका दिन एक सय शाखा अधिकृतहरुलाई देशका विभिन्न गाउँपालिकामा मन्त्रालयले पदस्थापन गरेको थियो । सोही दिन बोहरालाई सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकिएको थियो । 

पदस्थापन गरेको भोलिपल्ट अर्थात भदौ २७ मै मन्त्रालयले बोहराको सरुवा गरेको पाइएको छ । कार्यालयमा हाजिर नहुँदै बोहराको गृह मन्त्रालय अन्तर्गत सरुवा भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निकालेको सरुवा सूचीमा उल्लेख गरिएको छ । 

सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हर्षबहादुर रोकाको गएको भदौ ७ गते सरुवा भएको थियो । सुर्नयाबाट रोकाको डडेल्धुराको भागेश्वर गाउँपालिकामा सरुवा भएको हो । 

रोकाको सरुवा भएपछि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ २६ गते ज्योतीकुमारी बोहरालाई सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत खटाएपछि गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत पाउने आसा गरेको थियो । तर उनको पदस्थापन भएको एकदिनमै सरुवा भएपछि समस्या भएको छ । 

गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक तथा प्रशासनिक कामहरुमा बाधा हुँदै आएको गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । यस्तै अवस्थामा रहेमा कर्मचारीहरुलाई तलब खुवाउन समेत समस्या हुने उनले बताए । उनले भने ‘गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा समस्या भएको छ । मन्त्रालयले समयमा प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा आर्थिक तथा प्रशासनिक कामहरु रोकिएका छन् । गाउँपालिकाले सम्पादन गर्ने कामहरुमा बाधा भएको छ ।’
 

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  ०९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update