Sagun Khabar
बैतडीसहित सुदूरपश्चिममा साल्ट ट्रेडिङको सुपथ मूल्य पसल सञ्चालन 

बैतडी–साल्ट ट्रेडिङ कर्पोरेशनले बैतडीसहित सुदूरपश्चिमका विभिन्न ठाउँमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । दशैं,तिहार र छठ पर्वलाई मध्यनजर गरेर सोमबारदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको साल्ट ट्रेडिङ कर्पोरेशनका प्रदेश कार्यालयका प्रमुख वासुदेव उपाध्यायले बताए । 

कैलालीको धनगढी, अत्तरिया र टीकापुर, कञ्चनपुरको बेलौरी र महेन्द्रनगर, डडेल्धुरा, डोटीको दिपायल र बैतडीको पाटनमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको उनले बताए । 

Atrya hospital

साल्ट ट्रेडिङ कर्पोरेशन डिपो कार्यालय पाटनमा सोमबारदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको डिपो कार्यालयका प्रमुख प्रेमसिंह कठायतले बताए । 

डिपो कार्यालयबाट कार्तिक २२ गतेसम्म नुन, चिनी, तेल र चिउरा सुपथ मूल्यमा उपलब्ध गराइने कठायतले जानकारी दिए । 

साल्ट ट्रेडिङको डिपो कार्यालयबाट चिनी प्रतिकेजी ११० रुपैयाँ र नुन प्रतिकेजी २४ रुपैयाँका दरले सहुलियतमा मूल्यमा उपलब्ध गराइने कठायतले बताए । यस्तै चिउरा र तेलमा प्रतिलिटर सात रुपैयाँ छुट दिइने बताइएको छ । 

सहुलियतको दरको चिनी एक व्यक्तिलाई दुई केजीमात्रै उपलब्ध गराइनेछ भने नुन बढीमा ६ केजी उपलब्ध गराइनेछ । यस्तै चिउरा बढीमा ५ केजी र तेल बढीमा ५ लिटर सहुलियत मूल्यमा उपलब्ध गराइने साल्ट ट्रेडिङ कर्पोरेशन डिपो कार्यालय पाटनले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update