कैलाली –नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व गृहमन्त्री रवि लामिछानेले अनुसन्धानलाई प्रभावित पार्ने काम गरेको आरोप लगाएका छन् । धनगढीमा प्रेस चौतारी, नेपालले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सहकारी प्रकरणको अनुसन्धानमा लामिछानेले गलत प्रचार गरेको र अनुसन्धान प्रभावित पार्ने काम गरेको आरोप लगाएका हुन् ।
लामिछानेबाट अनुसन्धान रोक्ने प्रयासहरू भएका महासचिव पोखरेलले बताए । कानुनी राज्यमा अनुसन्धानलाई प्रभावित गर्ने काम गर्न नहुने उनले बताए । गोर्खा मिडियामा सहकारीहरूबाट ६५ करोड बढी रकम गैरकानुनी रूपमा आएको उनले बताएका छन् । गोर्खा मिडियाका प्रबन्ध निर्देशक रहदा पूर्व गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अनुसन्धानलाई निसर्त सहयोग गर्नुपर्ने पोखरेलले जोड दिएका छन् ।
सहकारीको रकम कम्पनी सञ्चालनमा खर्च गर्नु गैरकानुनी भएकाले रवि लामिछानेमाथि पनि कानुन अनुसार कारबाहीको प्रक्रिया अगाडी बढेको महासचिव पोखरेलले बताए ।
सहकारीको रकम हिनामिनाका लागि टेलिभिजन सञ्चालन गरिएको उनले आरोप समेत लगाएका छन् । सहकारी प्रकरणमा लामिछानेलाई क्लिन चिट नदिइएको उनको तर्क थियो । उनले सहकारीको रकम हिनामिनाको विषयमा थप अनुसन्धान प्रहरीले गर्दै आएको बताएका छन् । संसदीय समितिले कानुन अनुसार कारबाही गर्न भनेकाले उनीमाथि कानुन अनुसार कारवाही उनले बताए ।