बैतडी–सुदूरपश्चिमका सात पहाडी जिल्लालाई तराईका जिल्लासंग जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । भीमदत्त राजमार्गअन्तर्गत डोटीको घोरडी र गोगनपानीमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
राजमार्ग अवरुद्ध भएपछि सयौं यात्रु अलपत्र परेका छन् भने सवारी साधन बीचबाटोमै रोकिएका छन् । बुधबार रातिदेखि नै राजमार्ग अवरुद्ध भएपछि बिरामी बोकेका एम्बुलेन्स पनि बाटोमै रोकिएका छन् । राजमार्गमा खसेको पहिरो पन्छ्याउने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
यस्तै डडेल्धुरादेखि डोटी जाड्ने केआईसिंह राजमार्ग भने आशिंक रुपमा सुचारु भएको छ । डडेल्धुराको रडुवामा पहिरो गएपछि उक्त राजमार्ग अवरुद्ध भएको थियो । अहिले पनि पहिरो खस्ने क्रम जारी रहेको तर आशिंक रुपमा यातायात सेवा सुचारु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।