Sagun Khabar
बैतडीका शक्तिपीठ तथा मन्दिरहरुमा सामूहिक जमरा राखेर घटस्थापना 

बैतडी – नेपालीहरुको महान पर्व बडादशैँ शुरु भएको छ । दशैँको पहिलो दिन आज शक्तिपीठ तथा मन्दिरहरुमा जमरा राखेर घटस्थपाना गरिएको छ । बैतडीमा शक्तिपीठ तथा मन्दिरहरुमा सामूहिक जमरा राख्ने प्रचलन रही आएको छ । घरघरबाट जौं लगेर मन्दिरमा सामूहिक रुपमा जमरा राख्ने चलन रही आएको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका कोषाध्यक्ष एवं मन्दिरका भण्डारे चक्रबहादुर बोहराले बताए । उनले भने ‘दशैंको बेला हाम्रो यतातिर घरघरमा जमरा राख्ने चलन छैन् । मन्दिरमै सामूहिक रुपमा जमरा राख्ने चलन रही आएको छ । दशैंको दिन सबैले मन्दिरबाटै जमरा लगेर लगाउने गरेका छन् ।’

जिल्लाका सबैजसो मन्दिर तथा शक्तिपीठहरुमा सामूहिक रुपमा जमरा राख्ने चलन रही आएको छ । जिल्लाका प्रसिद्ध शक्तिपीठहरुमा आज सामूहिक रुपमा जमरा राखिएको जनाइएको छ। 

Atrya hospital

जिल्लाका प्रसिद्ध त्रिपुरासुन्दरी, निङ्गलाशैनी, मेलौली, डिलाशैनी, कफलाशैनी, फाल्ङासैनी, कालशैनीलगायतका शक्तिपीठहरुमा सामूहिक जमरा राखिएको छ । यस्तै सिगास, केदार,शिवनाथ, जगन्नाथ, नागार्जुन, बासुलिङ्ग, दोगडाकेदार, महारुद्र, उदयदेव, अनिरुद्र, भूमिराज लगायतका मन्दिरहरुमा सामूहिक रुपमा जमरा राखिएको छ । मन्दिरहरुमा जमरा राखेपछि नवरात्र पनि शुरु भएको छ । मन्दिरमै बसेर नवरात्र उपासना गर्ने चलन समेत रही आएको अनिरुद्र मन्दिरका पूजारी विनोदप्रसाद अवस्थीले बताए । 

शक्तिपीठ तथा मन्दिरहरुमा जमरा राख्नु अघि भण्डार घरबाट शक्तिपीठ तथा मन्दिरहरुमा देउरो लग्ने चलन रही आएको छ । प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा भण्डार घरबाट भगवतीको सवारी गराएपछि सामूहिक जमरा राखिएको मन्दिरका मूल पूजारी देवदत्त भट्टले बताए । उनले भने ‘घटस्थापनाका दिन निङ्गलाशैनी भगवतीको मन्दिरबाट देउरो ल्याउने प्रचलन रही आएको छ । मन्दिरमा देउरो ल्याइसकेपछि सामूहिक जमरा राखेका छौं ।’

सामूहिक रुपमा जमरा राख्ने प्रचलनले सामाजिक सदभाव पनि कायम हुने स्थानीय संस्कृतिका आचार्य घनश्याम लेखकले बताए । दशैंको समयमा सामूहिक रुपमा शक्तिको पूजा गर्ने प्रचलन रहेको र सोही अनुसार सामूहिक पूजाआजा गर्ने गरिएको उनले बताए । उनले भने ‘सामूहिक रुपमा जमरा राख्ने चलन पहिलादेखिको हो । यो प्रचलनले सामाजिक सदभावलाई बढाएको छ ।सबैलाई एकैठाउँमा भेटघाट हुने वातावरण समेत सिर्जना गरेको छ ।’
शक्तिपीठ तथा मन्दिरहरुमा जमरा राखिएसंगै नित्य पूजा आराधना गर्ने गरिएको छ । सप्तशती चण्डी लगायतका पाठहरु पढ्ने र माता दुर्गाको आराधना गर्ने प्रचलन रहेको अनिरुद्र मन्दिरका  पूजारी अवस्थीले बताए । 

नवरात्र शुरु भएसंगै देवीदेवताका मन्दिरहरुमा भक्तजनहरुको घुँइचो बढेको छ । बसाइसराई गरेर गएकाहरु पनि दशैंको समयमा थातथलोमा फर्कने भएकाले शक्तिपीठ तथा मन्दिरहरुमा घुँइचो लागेको हो । जिल्लामा रहेका देवीका मन्दिरहरुमा घटस्थापनाकै दिनदेखि भक्तजनहरुको घुँइचो लाग्ने गरेको छ । 

बैतडीमा रहेका शक्तिपीठ तथा मन्दिरहरुमा दशैंको बेला सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत दर्शनका लागि पुग्ने गरेका छन् । 

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update