Sagun Khabar
गर्भवती आमाहरुलाई निशुल्क अल्ट्रासाउण्ड सेवा दिँदै डिलाशैनी गाउँपालिका 

बैतडी –बैतडीको डिलाशैनी गाउँपालिकाले गर्भवती आमाहरुका लागि निशुल्क अल्ट्रासाउण्ड सेवा दिन थालेको छ । प्रत्येक वडाका स्वास्थ्यचौकीहरुमा शिविरको आयोजना गरेर गर्भवती आमाहरुको निशुल्क अल्ट्रासाउण्ड गर्ने गरिएको डिलाशैनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम नाथ योगीले बताए । 

आमा र शिशु बचाउने अभियान अन्तर्गत प्रत्येक वडामा रहेका गर्भवती आमाहरुको अल्ट्रासाउण्ड गर्ने गरिएको स्वास्थ्य शाखा प्रमुख नाथले बताए । गर्भवती आमा र पेटभित्रको बच्चाको स्वास्थ्य अवस्थाका बिषयमा जानकारी लिनका लागि निशुल्क अल्ट्रासाउण्ड सेवा सञ्चालन गरिएको नाथले बताए । 

Atrya hospital

अल्ट्रासाउण्ड गर्दा गर्भवती आमाको स्वास्थ्य अवस्था र पेटभित्रको बच्चाको स्वास्थ्य अवस्था थाहा हुने गर्दछ । उनीहरुमा कुनै किसिमका जटीलता भएमा सुविधा सम्पन्न अस्पतालमा रेफर गर्ने गरिएको शिविरमा सेवा दिँदै आएकी अनमी अम्सरा बिष्टले बताइन् । 

गाउँकै स्वास्थ्य संस्थामा अल्ट्रासाउण्ड सेवा पाउँदा गर्भवती आमाहरुलाई समेत सहज भएको छ । अल्ट्रासाउण्ड गर्नका लागि टाढा जानुपर्ने बाध्यता हटेको र आफ्नो स्वास्थ्य अवस्थाका बिषयमा उनीहरुलाई थाहा हुने गरेको अनमी बिष्टले बताइन् । 

अहिलेसम्म गाउँपालिकाको वडा नं १,२,३,५ र ६ मा शिविरको आयोजना गरिसकिएको स्वास्थ्य शाखा प्रमुख नाथले बताए । बाँकी रहेका वडाहरुमा पनि शिविर सञ्चालन गरेर गर्भवती आमाहरुको निशुल्क अल्ट्रासाउण्ड गरिने उनले बताए । 

अहिलेसम्म शिविरमा ७० जना गर्भवती आमाहरुले सेवा लिएका छन् भने ती मध्ये ५ जनामा जटीलता देखिएको छ । उनीहरुलाई समयमै सुविधा सम्पन्न अस्पताल जान समेत सुझाव दिइएको स्वास्थ्य शाखा प्रमुख नाथले बताए । 
 
 

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  ०८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update