Sagun Khabar
उपभोक्ता समितिमार्फत योजना कार्यान्वयन नगर्न मुख्यमन्त्री शाहको निर्देशन 

कैलाली –सुदूरपश्चिममा चालु आर्थिक वर्षका योजनाहरु उपभोक्ता समितिमार्फत कार्यान्वयन नगर्न मुख्यमन्त्री कमलबहादुर शाहले निर्देशन दिएका छन् । बजेट तथा योजना छनोटमा  बिचौलिया हावी भएर व्यक्तिगत योजनाहरु छनोट भएको भन्दै चौतर्फी गुनासो बढेपछि मुख्यमन्त्री शाहले सबै मन्त्री र सचिवहरुलाई कुनै पनि योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन नगर्न नगराउन निर्देशन दिएका हुन् । 

प्रदेश नीति तथा योजना आयोगद्वारा शनिबार धनगढीमा आयोजित प्रदेश विकास समस्या समाधान समितिको बैठकमा मुख्यमन्त्री शाहले प्रदेश सरकारको आर्थिक वर्ष ०८२÷८२ बजेट कार्यान्वयन गर्दा कुनै पनि निकायले विगतजस्तो उपभोक्ता समितिमार्फत काम नगर्न निर्देशन दिए ।

Atrya hospital

बैठकमा सबै मन्त्रीहरु, राज्यमन्त्रीहरु, सचिवहरु र विभिन्न आयोगका पदाधिकारीहरुलाई उपस्थित गराएर मुख्यमन्त्री शाहले प्रदेश सरकारको बजेटमा विनियोजित विकास निर्माणका सम्पूर्ण योजनाहरु ठेक्का प्रक्रियामार्फत कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

सुदूरपश्चिममा विगतदेखि नै बजेटमा विचौलियाको चलखेल भएर योजना पार्ने अनि निश्चित व्यक्ति उपभोक्ता समितिमा बसेर अनियमितता गर्ने गरेको गुनासो छ ।

यस्तै, मुख्यमन्त्री शाहले कुनै व्यक्ति वा फर्मलाई लक्षित कृषि अनुदानका कार्यक्रमहरु बजेटमा विनियोजन भएको हुन सक्ने औल्याउँदै त्यस्ता कार्यक्रमहरु पहिचान गरेर व्यक्ति लक्षित कुनै पनि अनुदानका कार्यक्रमहरु कार्यान्वयन नगर्न समेत निर्देशन दिएका छन् । 
 

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  ०८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update