Sagun Khabar
दशैँका लागि झुलाघाट नाकाबाट स्वदेश फर्किदै परदेशी 
फाइल फोटो

बैतडी–बडादशैँको मुख्य दिन विजयादशमी नजिक आएपछि भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकाबाट स्वदेश फर्कने परदेशीको संख्या दिनानुदिन बढ्दै गएको छ । 

बडादशैँको पहिलो दिनदेखि नै झुलाघाटबाट स्वदेश फर्कने नागरिकको संख्या बढ्दै गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगनाले बताए । दैनिक डेढसयदेखि दुईसय जना झुलाघाट नाकाबाट स्वदेश फर्किरहेका उनले बताए । 

Atrya hospital

रोजगारीको सिलसिलामा भारतका विभिन्न स्थानमा रहेका नेपालीहरु झुलाघाट नाकाबाट स्वदेश फर्किरहेका प्रहरी निरीक्षक ढुंगानाले बताए । मौसमी रोजगारीका लागि भारतको झुलाघाट,पिथौरागढ क्षेत्रमा रहेका नेपालीका साथै लामो समयदेखि भारतका दिल्ली,पञ्जाब लगायतका क्षेत्रमा काम गरिरहेका नेपालीहरु झुलाघाट नाकाबाट स्वदेश फर्किरहेका हुन् । 

झुलाघाट नाकाबाट सुदूरपश्चिमका साथै कर्णाली प्रदेशका विभिन्न जिल्लाका नागरिक स्वदेश फर्किरहेका हुन् । प्रहरी निरीक्षक ढुंगानाले भने,‘झुलाघाट नाकाबाट दैनिक डेढदेखि दुईसय जना नागरिक स्वदेश फर्किरहेका छन् । रोजगारीका लागि भारतका विभिन्न स्थानमा रहेका नेपालीहरु दशैँ मनाउन घर फर्किरहेका हुन् ।’

सीमा नाका झुलाघाटबाट स्वदेश फर्कने नागरिकको सहजताका लागि यात्रु सहायता कक्षा सञ्चालनमा रहेको प्रहरी निरीक्षक ढुंगानाले बताए । स्वदेश फर्कदा नागरिकलाई कुनै समस्या नहोस भनेर यात्रु सहायता कक्षा सञ्चालन गरिएको उनले बताए । सीमा नाका झुलाघाटका साथै जिल्लाका अन्य स्थानहरुमा समेत यात्रु सहायता कक्ष सञ्चालनमा रहेका उनले बताए । यात्राका क्रममा कुनै समस्या भएमा यात्रु सहायता कक्षमा सम्पर्क राख्न समेत प्रहरी निरीक्षक ढुंगानाले आग्रह गरे । 

चाडपर्वको समयमा यात्रुहरुले बढी भाडा तिर्नुपर्ने अवस्था आउन सक्ने भएकाले कसैले तोकिएको भन्दा बढी लिएको पाइएमा कारवाही हुने प्रहरी निरीक्षक ढुंगानाले बताए ।

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update