बैतडी–बैतडीको सुर्नया गाउँपालिका वडा नं –२ स्थित सतबाँझ सामुदायिक स्वास्थ्य इकाइमा निशुल्क ग्रामीण अल्ट्रासाउण्ड शिविर सञ्चालन गरिएको छ ।
गर्भवती आमाहरुका लागि आज सञ्चालन गरिएको शिविरमा १७ जनाले सेवा लिएका छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
निशुल्क ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम अन्तर्गत गर्भवती आमाहरुको स्वास्थ्यको चेकजाँच गर्नुका साथै उनीहरुलाई गर्भावस्थाका बिषयमा जानकारी दिइएको शिविरमा सेवा दिँदै आएकी सिनियर अनमी मेनका शाहीले बताइन् । अल्ट्रासाउण्ड गर्दा गर्भवती आमा र पेटभित्रको बच्चाको स्वास्थ्य अवस्थाका बिषयमा थाहा हुने उनले बताइन् । केही जटीलता भएमा सुविधा सम्पन्न अस्पतालमा रेफर गर्ने गरिएको उनले बताइन् । उनले भनिन्,‘अल्ट्रासाउण्ड गर्दा आमा र पेटभित्रको बच्चाको अवस्था हेर्छौं । केही जटीलता भएमा सुविधा सम्पन्न अस्पतालमा रेफर गर्छौं । गर्भवती आमाहरुले खानुपर्ने पोषिलो खानेकुराको बारेमा जानकारी दिने गरेका छौं ।’
गर्भवती आमाहरुको अल्ट्रासाउण्ड गरेपछि उनीहरुलाई सामूहिक रुपमा गर्भावस्था र ध्यान दिनुपर्ने कुराहरुको बारेमा जानकारी दिइएको उनले बताइन् । गर्भावस्थामा आउन सक्ने जटीलता, गर्भावस्थाको समयमा पोषिलो खानेकुराको महत्व, आइरन चक्की सेवन गर्नुको फाइदा, ८ पटक स्वास्थ्य संस्थामा गर्भजाँच गराउनुको फाइदा लगायतका बिषयमा जानकारी दिइएको सिनियर अनमीले शाहीले बताइन् ।
गर्भावस्थाको समयमा परिवारका सदस्यहरुको भूमिका, गर्नुपर्ने पूर्वतयारी लगायतका बिषयमा गर्भवती आमाहरुसंग छलफल गरिएको उनले बताइन् ।
आमा र बच्चाको मृत्यु हुन नदिन पालिकाभरीका प्रत्येक स्वास्थ्य संस्थामा गर्भवती आमाहरुको निशुल्क अल्ट्रासाउण्ड गर्ने गरिएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए । गर्भवती आमाहरुको स्वास्थ्य अवस्थाका बारेमा समयमै जानकारी लिएर मातृ तथा शिशु मृत्युलाई शून्यमा झार्ने आफूहरुको लक्ष्य रहेको उनले बताए ।
भोलि सुर्नया गाउँपालिका वडा नं –१ स्थित हटैराज स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुने हटैराज स्वास्थ्यचौकीका प्रमुख प्रकाश चन्दले जानकारी दिए । शिविरमा आएर सेवा लिन वडाभित्रका गर्भवती आमाहरुलाई आग्रह समेत गरिएको छ ।