बैतडी–बैतडीमा चाडपर्व लक्षित सुरक्षा योजना लागू गरिएको छ । दशैँतिहारजस्ता ठूला चाडपर्वलाई लक्षित गरेर जिल्लाभरी सुरक्षा योजना लागू गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयले तयार पारेको सुरक्षा योजना लागू गर्ने बिषयमा जिल्लाभरी रहेका प्रहरी युनिटका प्रमुखहरुसंग छलफल समेत गरिएको प्रहरी निरीक्षक ढुंगानाले बताए । जिल्लामा नयाँ प्रहरी प्रमुखको रुपमा आएका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले आइतबार मातहतका युनिट इञ्चार्जहरुसंग छलफल गरेका छन् ।
छलफलका क्रममा उनले सबै युनिट इञ्चार्जहरुलाई सुरक्षा योजना अनुसार चाडपर्वमा परिचालित हुन र शान्ति सुरक्षा कायम गर्न निर्देशन दिएका छन् । चाडपर्वको समयमा हुन सक्ने विभिन्न खालका आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरी चनाखो हुनुपर्नेमा उनले जोड दिएका छन् ।
यस्तै प्रहरी नायब उपरीक्षक मिश्रले लागू औषध नियन्त्रणका लागि सक्रिय रुपमा लाग्न मातहत युनिट इञ्चार्जहरुलाई निर्देशन दिएका छन् ।
चाडपर्व लक्षित सुरक्षा योजनामा चोरीडकैती नियन्त्रण, जुवातास नियन्त्रण, बैंक तथा बित्तीय संस्थाहरुको सुरक्षा, सीमा नाकाबाट हुनसक्ने अवैध निकासी नियन्त्रण, मेलापर्व सुरक्षा, अवैध मदिरा नियन्त्रण, कालोबजारी नियन्त्रण लगायतका कुराहरु समेटिएका छन् । सुरक्षा योजनामा समेटिएका कुराहरु लागू गर्ने बिषयमा इञ्चार्ज युनिटहरुसंग छलफल भएको प्रहरी निरीक्षक ढुंगानाले बताए ।
चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत जिल्लाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष समेत स्थापना भएका छन् । ती कक्षहरुबाट यात्रुहरुलाई सहयोग गर्नुका साथै सवारी दुर्घटना न्यूनीकरणका लागि पहल भइरहेको प्रहरी निरीक्षक ढुंगानाले बताए ।
चाडपर्वको समयमा जिल्लाभरीका ३४ ओटा प्रहरी युनिटबाट ४ सय प्रहरी खटाइने उनले बताए ।