Sagun Khabar
अपराध नियन्त्रणका लागि नेपाल र भारतका सुरक्षा अधिकारीबीच मिलेर जाने सहमति 

बैतडी–सीमा क्षेत्रमा हुने विभिन्न खालका अपराध नियन्त्रणका लागि नेपाल र भारतका सुरक्षा अधिकारीले मिलेर काम गर्ने सहमति गरेका छन् । 

बैतडीसंग सीमा जोडिएको भारतको झुलाघाटमा आइतबार भएको दुवै देशका सुरक्षा अधिकारीहरुको समन्वयात्मक बैठकले यस्तो निर्णय गरेको हो । चाडपर्वको समयमा सीमा क्षेत्रमा विभिन्न किसिमका आपराधिक घटनाहरु हुन सक्ने भएकाले त्यस्ता घटनाहरु न्यूनीकरणका लागि दुवै देशका सुरक्षा निकायहरुले मिलेर काम गर्ने सहमति भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए । 

Atrya hospital

बैठकमा नेपालका तर्फबाट बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्र, सशस्त्र प्रहरी नायब उपरीक्षक लक्ष्मण थापा र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख दिगम्बर गिरीको सहभागिता रहेको थियो । यस्तै भारतका तर्फबाट सीमा सुरक्षा बल (एसएसबी)का अधिकारीहरुको सहभागिता रहेको थियो । 

उक्त बैठकमा सीमा क्षेत्रमा हुन सक्ने अवैध चोरी निकासी, लागू औषध ओसारपोसार र अन्य अपराधहरु नियन्त्रणका बिषयमा छलफल भएको प्रहरी निरीक्षक ढुंगानाले बताए । 

यसैबीच जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुले सीमा नाका झुलाघाटस्थित महाकाली भन्सार कार्यालयको अनुगमन निरीक्षण गरेका छन् । कार्यालयले गरिरहेको कामका बारेमा सुरक्षा समितिका पदाधिकारीहरुले अनुगमन निरीक्षण गरेका हुन् । 
 

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update