बैतडी–बैतडीको दशरथचन्द नगरपालिका–१ श्रीखण्ड घर भई हाल कञ्चनपुरको कृष्णपुर बस्दै आएका यातायात व्यवसायी ४३ बर्षीय भरत भाटको निधन भएको छ ।
सोमबार कैलालीको गोदावरी नगरपालिका–१ धनगढी रोडमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका भाटको उपचारका क्रममा गए राति मृत्यु भएको हो । भाट आँफैले चलाएको सुपप्र ०१००८ व ८९९७ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो ।
मोटरसाइकल दुर्घटनमा परी भाटको टाउको र हातखुट्टामा गम्भीर चोट लागेको थियो । उनलाई उपचारका लागि मायामेट्रो अस्पतालमा भर्ना गरिएकोमा सोमबार राति मृत्यु भएको उनका काका मदन भाटले जानकारी दिए ।
उक्त दुर्घटनामा मृतक भाटकी १७ बर्षीया छोरी अस्मिता भाट घाइते भएकी छन् । उनको मायामेट्रो अस्पतालमै उपचार भइरहेको छ । उनको खुट्टामा चोट रहेको र अप्रेशन गर्नुपर्ने अवस्था आएको बताइएको छ ।
मृतक भाटका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् । उनका बुढेसकालमा आमा–बुवा पनि कृष्णपुरमै बस्दै आएका छन् ।
युवा यातायात व्यवसायी भरत भाटको अल्पायुमै निधन भएपछि अहिले श्रीखण्ड गाउँ शोकमा डुबेको छ । दशैँको मुखमा भएको घटनाले गाउँ शोकमा डुबेको स्थानीय लोकेन्द्र भट्टले बताए । भरतले महेन्द्रनगर–बैतडी बस सेवा सञ्चालन गर्दै आएका थिए ।
मिलनसार र मिजासिलो स्वभावका भाटको निधनले गाउँमा सन्नटा छाएको भट्टले बताए । उनले भने ‘अकल्पनीय घटनाबाट गाउँ शोकमा डुबेको छ । उनका परिवारजन र आफन्त शोकमा डुबेका छन् ।’
नेपाली सेनाबाट सेवा निवृत भएपछि भाटले यातायात व्यवसाय सञ्चालन गरेका थिए । यातायात व्यवसायबाट सबैसंग परिचित भएका भाटको निधनले अपूरणीय क्षति भएको दशरथचन्द नगरपालिका –१ का मानबहादुर टेरले बताए । उनले भने ‘यो खबरले सबै स्तब्ध भएका छौं । दशैँको मुखमा अकल्पनीय दुर्घटना भएको छ । यसले पुरै गाउँ शोकमा डुबेको छ ।’