Sagun Khabar
प्रसिद्ध निङ्गलाशैनी भगवतीको जात्रा असोज २४ र २५ गते 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिका वडा नं –२ स्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा यही असोज २४ र २५ गते जात्रा लाग्ने भएको छ । बडादशैँको अवसरमा महासप्तमी र महाष्टमीका दिन हरेक बर्ष यो मन्दिरमा जात्रा लाग्ने गरेको छ । 

यो बर्ष महाष्टमी र महानवमी एकैदिन परेकाले असोज २४ र २५ गते जात्रा लाग्ने निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका कोषाध्यक्ष एवं मन्दिरका भण्डारे चक्रबहादुर बोहराले बताए । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले महाष्टमी र महानवमी एकै दिन परेको जनाएको छ । 

Atrya hospital

निङ्गलाशैनी भगवती मन्दिरमा हरेक बर्ष महाष्टमीका दिन राँगा तथा बोकाको बलिसहित जात्रा हुने गर्दछ । महाष्टमीको अघिल्लो दिन महासप्तमीका दिन राँगा मन्दिरमा बाँध्ने चलन रही आएको छ । 

जात्राका लागि मन्दिरमा टाढा–टाढाबाट दर्शनार्थीहरु आउने क्रम शुरु भइसकेको भण्डारे बोहराले बताए । निङ्गलाशैनी भगवतीको दर्शनका लागि सीमावर्ती भारतीय क्षेत्रबाट समेत दर्शनार्थीहरु आउने गरेका छन् । नेपालका विभिन्न जिल्लाबाट भगवतीको दर्शनका लागि दर्शनार्थीहरु पुग्ने गरेका छन् । 

निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रालाई व्यवस्थित बनाउनका लागि मेला व्यवस्थापन समितिले स्वयंसेवक खटाउनुका साथै मेलास्थललाई मदिरा निषेधित क्षेत्र समेत घोषणा गरेको छ । 

यो क्षेत्रको प्रमुख शक्तिपीठको रुपमा रहेको निङ्गलाशैनी भगवती मन्दिरमा बर्षको चार पटक जात्रा लाग्ने गर्दछ । शरदीय नवरात्रमा घटस्थापनादेखि पूजाआजा शुरु भइ महासप्तमी र महाष्टमीमा ठूलो जात्रा लाग्ने गर्दछ । यस्तै चैत्राष्टमीमा पनि बलसहित जात्रा हुने गरेको मन्दिरका भण्डारे बोहराले बताए । 

यसैगरी मंसिर शुक्ल पूर्णिमा अर्थात धान्य पूर्णिमा र भाद्र शुक्ल चतुर्दशी अर्थात अनन्त चतुर्दशीमा पनि मन्दिरमा जात्रा हुने गरेको छ । यी दुई जात्रामा भने बलि दिने चलन नरहेको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १७:५८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update