बैतडी–बैतडीमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
जिल्लाको सुर्नया गाउँपालिका–६ खर्काधारमा मंगलबार राति सवा ८ बजेतिर जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए ।
धनगढीबाट सुर्नया गाउँपालिका –६ रीगातर्फ आउँदै गरेको म १ ज १८६ नम्बरको जिप सडकबाट अन्दाजी २० मिटर तल खसेको प्रहरी निरीक्षक ढुंगानाले बताए । मुस्याखान–शंकरपुर कच्ची सडकमा जिप दुर्घटना हुँदा सुर्नया गाउँपालिका –४ का ३२ बर्षीय बिरसिंह महरा, सुर्नया ६ का २० बर्षीय वसन्त कुँवर, सुर्नया गाउँपालिका –४ का २० बर्षीय नवीनसिंह महरा र सोही ठाउँका २८ बर्षीय मानसिंह महरा घाइते भएका छन् । जिपमा चारजना मात्रै सवार रहेको बुझिएको छ ।
घाइते मध्ये बिरसिंह महरा र वसन्त कुँवरलाई थप उपचारका लागि डडेल्धुरा पठाइएको छ । महराको टाउकोमा चोट रहेको छ भने कुँवरको दाहिने खुट्टामा चोट रहेको छ ।
यस्तै नवीनसिंह महरा र मानसिंह महराको शंकरपुर स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको छ ।
जिप चालक सुर्नया गाउँपालिका –७ पत्थरकोटका २२ बर्षीय प्रकाश कुँवरलाई नियन्त्रणमा लिएर घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक ढुंगानाले बताए ।