बैतडी–बैतडीमा जिप दुर्घटना हुँदा घाइते भएका चार जनाको उपचार भइरहेको छ ।
जिल्लाको सुर्नया गाउँपालिका–६ खर्काधारमा मंगलबार राति सवा ८ बजेतिर भएको जिप दुर्घटनामा परी घाइते भएका चार जना मध्ये तीन जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ भने एकजनालाई धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए ।
मुस्याखान–शंकरपुर कच्ची सडकमा भएको जिप दुर्घटनामा सुर्नया गाउँपालिका –४ का ३२ बर्षीय बिरसिंह महरा, सुर्नया ६ का २० बर्षीय वसन्त कुँवर, सुर्नया गाउँपालिका –४ का २० बर्षीय नवीनसिंह महरा र सोही ठाउँका २८ बर्षीय मानसिंह महरा घाइते भएका थिए । उनीहरुमध्ये वसन्तलाई धनगढी रेफर गरिएको छ भने अन्यको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये बिरसिंह महरा र वसन्त कुँवरलाई बढी चोट रहेको छ । बिरसिंहको टाउकोमा चोट छ भने वसन्तको दाहिने खुट्टामा चोट रहेको छ । अन्य दुई जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
धनगढीबाट सुर्नया गाउँपालिका –६ रीगातर्फ आउँदै गरेको म १ ज १८६ नम्बरको जिप सडकबाट अन्दाजी २० मिटर तल खसेर दुर्घटना भएको प्रहरी निरीक्षक ढुंगानाले बताए ।
जिप रोकेर चालक पसलमा सामान किन्न जाँदा एक्कासी जिप खसेको प्रहरीले जनाएको छ । जिप चालक सुर्नया गाउँपालिका –७ पत्थरकोटका २२ बर्षीय प्रकाश कुँवरलाई नियन्त्रणमा लिएर घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक ढुंगानाले बताए ।