Sagun Khabar
डडेल्धुरा बस दुर्घटना अपडेटः मृतकको संख्या पाँच पुग्यो
Atrya hospital

बैतडी- डडेल्धुरामा भएको पवनदूत यातायातको बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । घटनास्थलमा बुधबार बिहान ११ बजे थप एक जनाको शव फेला परेसँगै मृतकको संख्या पाँच पुगेको हो । बैतडीको पुर्चौडी नगरपालिका–१० की ६० वर्षीया गोवणी महराको शव घटनास्थलबाट निकालिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक उपेन्द्र बमले बताए ।

उनका अनुसार उनको शव बिहान ११ बजेतिर फेला परेको हो। कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडीका लागि छुटेको पवनदुत यातायातको ना ८ ख १०७८ नम्बरको बस मंगलबार राति डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु भएका अन्य चारजनाको भने यसअघि नै सनाखत भइसकेको छ ।

पुर्चौडी–३ बस्ने ४५ वर्षीया जैमती बोहरा, दुई दिनको शिशु, २२ वर्षीय सहदेव बोहरा र २१ वर्षीया कमला बोहराको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते बस चालक बिरेन्द्र बोहरासहित १२ जनालाई थप उपचारका लागि धनगढी पठाइएको प्रहरी निरीक्षक बमले बताए । बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको थियो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन।
 

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १२:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update