Sagun Khabar
राष्ट्रपति पौडेलद्वारा बडीमालिकाको दर्शन

बाजुरा –राष्ट्रपति रामचन्द्र पौडेलले बाजुरास्थित प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिरको दर्शन र पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित बिहीबार बिहान त्रिवेणी नगरपालिका– ९ मा पर्ने बडीमालिकाको पूजाअर्चना गरी टीका र प्रसाद ग्रहण गरेका हुन् । 

सो क्रममा राष्ट्रपति पौडेलले बडीमालिकालाई स्वर्गको टुक्रा भएको बताउँदै बाजुराबासीलाई स्वर्गका बासिन्दाका रुपमा अर्थ्याएका छन् । बडीमालिका दर्शनका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत आज बिहान आएका पौडेलले बडीमालिकाको दर्शनपछि यस्तो कुरा बताएका हुन् । 

Atrya hospital

धार्मिक तथा प्राकृतिक पर्यटनका दृष्टिले बाजुराले प्रचुर सम्भावना बोकेको उल्लेख गर्दै उनले आँखै सामुन्ने टल्किने सुन्दर हिमाल, निकै टाढासम्म फैलिएका विशाल फाँट, मनोरम प्राकृतिक दृश्यहरु देख्दा आफूलाई साँच्चै स्वर्गमा पुगेको आभास भएको बताए ।

देशभरकै मानवीय सूचकांकमा पछि भए पनि धार्मिक, साँस्कृतिक, ऐतिहासिक, पर्यटकीय, जल, जमिन, जडिबुटीको श्रोत र साधनका हिसावले  बाजुरा निकै धनी भएको आफूले पाएको राष्ट्रपति पौडेलको भनाइ थियो । 
बाजुराको त्रिबेणी नगरपालिकामा निमार्ण गरिएको नाटेश्वरी मन्दिरको उद्घाटनका लागि त्रिबेणी नगरपालिकाको निम्तोमा राष्ट्रपति पौडेल बाजुरा आएका हुन् । बडीमालिकाको दर्शनसंगै उनले नाटेश्वरी मन्दिरको उद्घाटन गरेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १७:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update