Sagun Khabar
बैतडीमा बेपत्ता किशोरीको अवस्था अज्ञात, निलम्बित हवलदारमाथि अनुसन्धान जारी 

बैतडी–बैतडीको पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी साढे १७ बर्षीया एक किशोरी बेपत्ता भएको ११ दिन बितिसक्दा समेत उनको अवस्था अज्ञात रहेको छ । गएको असोज २५ गते पाँच बजेको समयमा घरबाट निस्केकी किशोरीको अवस्था अझै पत्ता लाग्न सकेको छैन् । 

ती किशोरीे पञ्चेश्वर गाउँपालिका–२ स्थित महाकाली प्रहरीचौकीका इञ्चार्ज प्रहरी हवलदार कृष्णराज जोशीसंग नजिक रहेको खुलेपछि उनीमाथि प्रहरीको अनुसन्धान जारी रहेको छ । 

असोज २५ गते बिहान प्रहरी हवलदारलाई भेटेपछि ती किशोरी बेपत्ता भएकाले किशोरी बेपत्ता हुनुमा प्रहरी हवलदार जोशीको हात रहेको किशोरीका आफन्तहरुले आरोप लगाएका छन् । किशोरी बेपत्ता भएकै दिन स्थानीयहरुले जोशीलाई दाम्लोले बाँधेर कुटपीट समेत गरेका थिए । 

Atrya hospital

असोज २५ गते राति नै जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली पुगेपछि प्रहरी हवलदार जोशीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए । उनले भने ‘हामीले आरोपित हवलदारमाथि अनुसन्धान गरिरहेका छौं । ती हवलदारको किशोरीसंगको सम्बन्धका बिषयमा पनि अनुसन्धान गरिरहेका छौं ।’

किशोरीका आफन्तले प्रहरी हवलदार जोशीमाथि किटानी जाहेरी दिएकाले उनीमाथि मानिस बेपत्ता पार्न नहुने कसुरमाथि अनुसन्धान भइरहेको छ । जिल्ला अदालतबाट म्याद थपेर उनीमाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक ढुंगानाले बताए । जोशीलाई पदबाट निलम्बन गरेर अनुसन्धान भइरहेको बताइएको छ ।

किशोरी बेपत्ता भएको ११ दिन भइसक्दा समेत उनको अवस्था थाहा हुन सकेको छैन् । आरोपित जोशीले असोज २५ गते बिहान किशोरीसंग भेट भएको स्वीकार गरेपनि त्यसपछिको अवस्थाका बारेमा आफूलाई थाहा नभएको बताउँदै आएका छन् । 

तर किशोरीका आफन्तले भने किशोरी बेपत्तामा जोशीकै हात रहेको आरोप लगाउँदै आएका छन् । प्रहरी हवल्दार जोशीको किशोरीसँग चिनजान र निकटको सम्बन्ध रहेका तस्वीरसहितको विवरणसमेत किशोरीका आफन्तले प्रहरीसमक्ष बुझाएका छन् ।  

प्रहरी हवलदार र किशोरीसंगको सम्बन्धका बारेमा किशोरीको परिवारलाई थाहा भएको र सोही कारणले आफू तनावमा रहेको किशोरीले हवलदार जोशीलाई बताएकी थिइन् । तर हवलदार जोशीले आफू विवाहित रहेको र पारिवारिक व्यवस्थापनका लागि केही दिन लाग्ने बताएपछि किशोरी पानी ल्याउन जान्छु भनेर हिँडेकी थिइन् । त्यसपछि उनी उतैबाट बेपत्ता भएकी जोशीले प्रहरी समक्ष बयान दिएका छन् ।

बेपत्ता किशोरीको खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम पाण्डेय नेतृत्वको टोली अहिले पनि खटिरहेको छ । महाकाली नदी किनार लगायत सम्भावित स्थानहरुमा खोजी गरिएको भएपनि किशोरी फेला पर्न नसकेकी प्रहरी निरीक्षक ढुंगानाले बताए । 

यस्तै बेपत्ता किशोरीको केही महिना पहिला सीमावर्ती भारतीय क्षेत्रमा बसोबास गर्ने केटासंग विवाह गर्ने कुरा समेत चलेको थियो । उक्त क्षेत्रमा समेत खोजी गर्दा किशोरी नभेटिएकी प्रहरी निरीक्षक ढुंगानाले बताए । 

प्रहरीचौकी सानुपर्ने माग 

बैतडीको पञ्चेश्वर गाउँपालिका –२ की किशोरी बेपत्ता प्रकरणमा प्रहरी हवलदार नै मुछिएपछि जनप्रतिनिधिसहित स्थानीयहरुले प्रहरीचौकी सार्नुपर्ने माग गरेका छन् । जनप्रतिनिधिसहित ६४ जनाले हस्ताक्षर गर्दै महाकाली प्रहरीचौकी अन्यत्र सार्नुपर्ने माग गरेका हुन् । 

प्रहरीबाटै असुरक्षित भएको भन्दै उनीहरुले प्रहरीचौकी सार्नुुपर्ने माग गरेका हुन् । महाकाली प्रहरीचौकी महाकाली नदी किनार र बस्तीभन्दा टाढा रहेकाले उक्त चौकी सार्ने बिषयमा जिल्ला सुरक्षा समितिमा छलफल समेत भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक ढुंगानाले बताए । 

महाकाली प्रहरीचौकीका प्रहरी अहिले कुलाउमा बस्दै आएका छन् । महाकाली प्रहरीचौकीका लागि उपयुक्त स्थानको खोजी गरेर प्रहरीचौकीलाई निरन्तरता दिइने प्रहरी निरीक्षक ढुंगानाले बताए । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १०:१४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update