Sagun Khabar
बैतडीको सुर्नयामा चाडपर्वलक्षित बजार अनुगमन,म्याद नाघेका सामग्री नष्ट 

बैतडी–बैतडीको सुर्नया गाउँपालिकाले चाडपर्व लक्षित बजार अनुगमन थालेको छ । बजारमा हुने कालोबजारी नियन्त्रण गर्ने, म्याद नाघेका सामग्री विक्रिवितरण गर्न नदिने, पालिकामा दर्ता नभएका पसलहरुलाई दर्ताका लागि आग्रह गर्ने लगायतका उद्देश्य राखेर बजार अनुगमन कार्य शुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोगराज जोशीले जानकारी दिए । 

गाउँपालिका उपाध्यक्ष मञ्जु बोहराको नेतृत्वमा रहेको अनुगमन टोलीले गाउँपालिकाको वडा नं १, २, ३ र ४ मा रहेका विभिन्न बजारहरुमा अनुगमन गरेको हो । सोमबार बजार अनुगमनका क्रममा विभिन्न स्थानबाट करीब ६ हजार रुपैयाँ बराबरको म्याद नाघेको सामग्री बरामद गरेर नष्ट गरिएको प्रमुख प्रशासकीय अधिकृत जोशीले बताए । 

Atrya hospital

बजारमा अनुशासन कायम गर्न र उपभोक्ता हकहित संरक्षणका लागि बजार अनुगमन शुरु गरिएको उपाध्यक्ष बोहराले बताइन् । उनले भनिन् ‘बजारमा हुने कालोबजारी रोक्न र उपभोक्ता हितका बिषयमा सबैलाई सचेत गराउन हामीले बजार अनुगमन थालेका हौं ।’

गाउँपालिकाको सनशेरीमाण्डौं, सतबाँझ,सिउडे, धरमघर लगायतका ठाउँमा बजार अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ । अनुगमनका क्रममा पालिकामा दर्ता नभएका पसलहरुलाई पालिकामा दर्ता गर्न आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत जोशीले बताए । यस्तै होटेल तथा किराना पसलहरुलाई मूल्यसूची राख्न आग्रह गरिएको छ भने होटेलहरुमा सरसफाइ गर्न आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत जोशीले बताए ।

बजार अनुगमनलाई अब पालिकाले निरन्तरता दिने समेत प्रमुख प्रशासकीय अधिकृत जोशीले बताए । चाडपर्वको समयमामात्रै नभएर अन्य समयमा पनि बजार अनुगमनलाई निरन्तरता दिइने उनले बताए । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १०:१८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update