Sagun Khabar
सुर्नयाका ग्रामीण क्षेत्रमा म्याद नाघेका सामग्री विक्रि हुँदै, पालिकाले अनुगमन गर्दै 

बैतडी–बैतडीको सुर्नया गाउँपालिकाका ग्रामीण क्षेत्रमा रहेका पसलहरुबाट म्याद नाघेका सामग्री विक्रि भइरहेको पाइएको छ । गाउँपालिका उपाध्यक्ष मञ्जु बोहरा नेतृत्वको अनुगमन टोलीले बजार अनुगमन गर्दा यस्तो पाइएको छ । 

राजमार्गसंग जोडिएका बजारभन्दा गाउँघरमा पसलहरुमा म्याद नाघेका सामग्री बढी विक्रि हुने गरेको पाइएको सुर्नया गाउँपालिकाकी उपाध्यक्ष मञ्जु बोहराले बताइन् । गाउँपालिकाको वडा नं ८ को ढोले र दोरामा मंगलबार ३ ओटा पसलमात्रै अनुगमन गर्दा ७ हजार रुपैयाँ बराबरको म्याद नाघेको सामग्री बरामद गरेर नष्ट गरिएको उनले बताइन् । उनले भनिन् ‘सडकसंग जोडिएको बजारभन्दा गाउँघरका पसलहरुमा म्याद नाघेका सामग्री विक्रि हुने गरेको पाइएको छ । हामीले अनुगमनका क्रममा म्याद नाघेका सामग्री नगर्न आग्रह गरेका छौं ।’

Atrya hospital

अनुगमनका क्रममा पालिकामा दर्ता नभएका पसलहरुलाई पालिकामा दर्ता हुन आग्रह गरिएको उपाध्यक्ष बोहराले बताइन् । सामग्री खरीद–विक्रि गर्दा उत्पादन तथा उपभोग्य मिति हेरेर मात्रै कारोबार गर्नुपर्नेमा आफूहरुले सुझाव दिएको उनले बताइन् । 

ग्रामीण क्षेत्रका उपभोक्ताहरुलाई उपभोक्ता हकहितका बिषयमा जानकारी दिने र म्याद नाघेका सामग्री उपभोग नगर्न सुझाव दिने उद्देश्यले बजार अनुगमनलाई तीव्रता दिएको उपाध्यक्ष बोहराले बताइन् । 

यसअघि सोमबार वडा नं १,२,३ र ४ मा रहेका बजारहरुमा अनुगमन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोगराज जोशीले जानकारी दिए । चाडपर्वलाई लक्षित गरेर बजार अनुगमनलाई तीव्रता दिइएको उनले बताए । 

गाउँपालिकाभित्र व्यापार व्यवसाय गरिरहेकाहरुले गाउँपालिकामा दर्ता हुनुपर्ने भएपनि कतिपय व्यवसाय दर्ता नभएकाले उनीहरुलाई दर्ता हुन आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत जोशीले बताए । 
राजमार्गसंग जोडिएका बजारभन्दा ग्रामीण क्षेत्रका बजारमा अखाद्य तथा म्याद नाघेका सामग्री विक्रि बढी हुने गरेको पाइएकाले अनुगमनलाई निरन्तरता दिइने उनले बताए । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update