Sagun Khabar
बैतडीको ढोलेमा डेरी उद्योग सञ्चालन

 बैतडी–बैतडीको सुर्नया गाउँपालिका वडा नं –८ ढोलेमा डेरी उद्योग सञ्चालनमा ल्याइएको छ । ढोले किमबगडमा श्री लालीगुराँश साना किसान सहकारी संस्थाले डेरी उद्योग सञ्चालनमा ल्याएको हो । 

स्थानीय किसानहरुले उत्पादन गरेको दुध खरीद गरी दुग्धजन्य पदार्थ उत्पादन र बजारीकरणका लागि सहकारी संस्थाले डेरी उद्योग सञ्चालनमा ल्याएको सहकारी संस्थाका व्यवस्थापक दिपेन्द्र बोहराले बताए । 

सुर्नया गाउँपालिका वडा नं ८ को ढोले क्षेत्रमा किसानहरुले अन्य ठाउँको तुलनामा बढी गाईभैंसी पालेकाले गाउँको दुध संकलन गरेर किसानहरुको जिविकोपार्जनमा समेत टेवा पुर्याउने संस्थाको उद्देश्य रहेको उनले बताए । उनले भने ‘सहकारीमार्फत डेरी उद्योग सञ्चालनमा ल्याएका छौं । गाउँका किसानहरुको दुध संकलन गरेर दुधबाट परिकार बनाएर विक्रि गर्ने योजना बनाएका छौं ।’

Atrya hospital

सुर्नया गाउँपालिका, सुर्नया गाउँपालिका वडा नं–८ को कार्यालय र साडा नेपाल नामक गैरसरकारी संस्थाको सहयोगमा डेरी उद्योग स्थापना गरिएको सहकारी संस्थाकी सचिव पार्वती विकले बताइन् । 

डेरी उद्योग सञ्चालनका लागि साडा नेपालले करीब ४ लाख बराबरको उपकरण सहयोग गरेको छ भने पालिका र वडाको पनि सहयोग रहेको विकले बताइन् । 

करीब ७ लाखको लगानीमा डेरी उद्योग सञ्चालनमा आएको साडा नेपालका कृषि प्राविधिक दिपेशसिंह धामीले बताए । ग्रामीण क्षेत्रमा डेरी उद्योग सञ्चालन भएपछि यो क्षेत्रका किसानहरुलाई सहज भएको उनले बताए । 
दुधको सहजै विक्रि हुने र यसबाट आफूहरुलाई आम्दानी हुने भएपछि खुसी लागेको स्थानीय मानमती बोहराले बताइन् । उनले भनिन् ‘हाम्रो यो क्षेत्रमा भैंसी पालन व्यवसाय छ । किसानहरुलाई दुध बेच्न समस्या भइरहेका बेला डेरी उद्योग स्थापना भएर सजिलो भएको छ ।’

डेरी उद्योगले दुधका परिकारहरु बनाएर नजिकका बजारहरुमा विक्रि गर्ने योजना बनाएको व्यवस्थापक बोहराले बताए । यसका लागि साडा नेपालले सात दिने तालिमको समेत आयोजना गरेको छ । 

किसानहरुलाई दुधका परिकार बनाउनेसम्बन्धी सात दिने तालिम मंगलबारबाट शुरु भएको र यसले डेरी उद्योग सञ्चालनमा सहज हुने बोहराले बताए । 

यसैबीच मंगलबार एक कार्यक्रमको आयोजना गरेर डेरी उद्योगको उद्दघाटन गरिएको छ । डेरी उद्योग उद्दघाटन कार्यक्रममा सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवर, उपाध्यक्ष मञ्जु बोहरा, प्रमुख प्रशासकीय अधिकृत लोगराज जोशी, वडा नं ८ का वडा अध्यक्ष भानबहादुर बोहरा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख ललित कठायत, साझेदार संस्थाका प्रतिनिधि र स्थानीय किसानहरुको सहभागिता थियो । 

डेरी उद्योग उद्दघाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष कुँवरले ग्रामीण क्षेत्रमा सञ्चालन हुने साना उद्योगहरुले किसानहरुको जिविकोपार्जनमा टेवा पुर्याउने बताए । सहकारी संस्थाले डेरी उद्योग सञ्चालन गरेकोमा खुसी व्यक्त गर्दै उनले डेरी उद्योग प्रवद्र्धनका लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

यस्तै गाउँपालिका उपाध्यक्ष मञ्जु बोहराले ग्रामीण क्षेत्रका किसानहरुको आयआर्जनमा डेरी उद्योगले सहयोग पुग्ने बताइन् । ग्रामीण क्षेत्रका किसानहरुले उत्पादन गरेको दुधले बजार नपाइरहेको अवस्थामा गाउँमै डेरी उद्योग सञ्चालन भएपछि सहज हुने उनले बताइन् । 

यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोगराज जोशीले स्थानीय उत्पादनको प्रवद्र्धनमा डेरी उद्योगले सहयोग पुग्ने बताए । पशुपालनमा लागेका किसानहरुको जिविकोपार्जनमा डेरी उद्योगले सहजता ल्याउने उनले बताए । 

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  ०९:५८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update