Sagun Khabar
बैतडीमा सम्बन्ध विच्छेद गर्नेको सङ्ख्या बढ्दै , एक बर्षको अवधिमा ३८ थान मुद्दा दर्ता

बैतडी – बैतडीमा एक बर्षको अवधिमा ३८ थान सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन । आर्थिक बर्ष २०८०/८१ को तथ्यांकअनुसार जिल्लामा ३८ थान  सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका जिल्ला अदालत बैतडीको तथ्यांकले देखाएको छ । जस मध्ये २६ थान दाबी पुग्ने गरि फैसला भएका छन भने ३ वटा दाबी नपुग्ने भनेर फैसला भएका छन । यस्तै सम्बन्ध विच्छेदका लागी दर्ता गराएका मुद्दा मध्ये ९ वटा मुद्दा भने फैसला हुन बाकी रहेका जिल्ला अदालत बैतडीका श्रेस्तेदार गोकुल पन्तले बताए ।

जिल्ला अदालत बैतडीका अनुसार २०८०/८१ को तथ्यांकअनुसार एक बर्षको अबधिमा जिल्ला अदालत बैतडीमा दर्ता भएका सम्बन्ध विच्छेदका मुद्दा मध्ये धेरै मुद्दा फरच्यौँट भएका छन् भने केही मुद्दा अझै फरच्यौँट हुन बाँकी रहेका छन् । सम्बन्ध विच्छेद मध्ये शुद्ध सम्बन्ध विच्छेद गराउने मात्रै नभएर अंश जोडिएर आएका सम्बन्ध विच्छेदाका मुद्दा समेत जिल्ला अदालत बैतडीमा दर्ता हुने गरेका जिल्ला अदालत बैतडीका श्रेस्तेदार पन्तले बताए ।

Atrya hospital

सम्बन्ध विच्छेद भन्नाले विवाहबाट जसरी पुरुष र महिलाबीचको सम्बन्ध श्रीमान श्रीमतीको रुपमा जोडिन्छ, त्यसैगरी सम्बन्धविच्छेदबाट सोही श्रीमान, श्रीमतीबीचको नातासम्बन्ध तोडिन्छ । स्पष्ट रुपमा भन्ने हो भने पति र पत्नीबीच कुनै पनि प्रक्रियाद्वारा जोडिएको वैवाहिक सम्बन्ध, सामाजिक र कानूनी मान्यता अनुरुप पति पत्नीबीचको नाता सम्बन्धको त्यागपत्र भन्ने बुझिन्छ । मुलुकी देवानी सहिता २०७४ दफा ९३ बमोजिम पति पत्नी दुबैले चाहेमा जुनसुकै  बेला पनि सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था रहेको छ ।

यदि  पति पत्नी बीच झगडा भई कानूनले सम्बन्ध विच्छेद गर्न पाउने अवस्था सृजना भएमा सम्बन्ध विच्छेदको लागि अदालतमा मुद्दा दायर गर्नुपर्दछ । अदालतमा सम्बन्ध विच्छेदको लागि पति र पत्नीका लागि भिन्न भिन्नै अवस्था सृजना गरेको छ । पतिले चार अवस्था सृजना भएमा सम्बन्ध विच्छेदको लागि निवेदन दिन पाउने छ । पहिलो अवस्था कानून बमोजिम अंश लिई अलग भएको अवस्थामा वा पत्नीले पतिको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखी अलग बसेको अवस्था भएको हुनु पर्दछ । सो अवस्थामा मुलुकी देवानी सहिता २०७४ को  दफा ९३ बमोजिम सम्बन्ध विच्छेदको लागि निवेदन दिन सकिने जिल्ला सरकारी वकिल कार्यालय बैतडीका जिल्ला न्यायाधीवक्ता मोहनी प्रसाद जोशीले बताए ।

जीवनमा कसैले पनि सम्बन्ध विच्छेद गर्दछु भनेर सोचाइ राख्दैन्न । व्यक्तिको जीवनमा नचाहेर पनि सम्बन्धमा  उतारचढाव हुने गर्दछ । त्यसैले सम्बन्ध सुधारका लागि सञ्चार र समझदारी आवश्यक पर्दछ । सम्बन्ध विच्छेद गर्नु भन्दा पनि सम्बन्ध सुधारका लागि मेलमिलापको अवसर खोज्नु नै बुद्धिमानी रहेको न्यायाधीवक्ता जोशीले बताए । जिल्ला अदालत बैतडीको तथ्यांकअनुसार आर्थिक बर्ष ८०/८१ मा सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गराउनेको सङ्ख्या बैतडी जिल्लामा बढदै गएको देखाएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १३:२६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update